१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गर्नेहरुको लहर नै चलेको छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गर्नुभएको छ । 

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उहाँले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताउनु भएको हो । अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटीनै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया समेत दिनुभयो । उहाँले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढने विषयमा छलफल भईरहेको बताउनु भयो । 

अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने शिलशिला चलेको छ । 

उत्साहवद्र्धक पनि छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटीनै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ । बेग्लै किसिमको उत्साह पैदा गरेको छ । तरंग पैदा गरेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ । र उसले अनावश्यक आरोप लगाईरहेको छ । झूटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनुपर्नेछ ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताउनु भयो । उहाँले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताउनु भयो । सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरुले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको पनि उहाँले स्पष्ट पार्नुभयो । 

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ । अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छौैैं । दोसो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौं । यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नु पर्दछ । कसैकसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन ।’

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले तीन वटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरुले सोच बनाएपनि त्यसरी गर्न कानुन, नियमले मिल्नेनमिल्ने छलफल गरेर अघि बढने बताउनुभयो ।