१८ माघ २०८१, शुक्रबार
,
Latest
अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठनको माग भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति दिन सुरु मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन शनिबार तीन इजरायली बन्धक रिहा हुँदै गायिका एलिना चौहानबाट सम्वन्ध विच्छेद मुद्दा दर्ता भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालेखाको आन्तरिक लेखापरीक्षण : २५ अर्ब २६ करोड बेरुजु, अघिल्लो वर्षभन्दा दोब्बर



अ+ अ-

महालेखानियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणबाट सरकारका विभिन्न निकायमा सवा २५ अर्ब बेरुजु निस्किएको छ । विभिन्न कोष तथा लेखानियन्त्रक कार्यालयहरूमार्फत महालेखाले गरेको आन्तरिक लेखापरीक्षणबाट गत आर्थिक वर्ष ०७७/७८ मा २५ अर्ब २६ करोड ५० लाख रुपैयाँको बेरुजु निस्किएको हो ।

यो संघीय सरकारबाट निकासा तथा खर्च भएको रकमको बेरुजु अंक भएको कार्यालयले जनाएको छ । कार्यालयले गत आवमा निकासा तथा खर्च भएको ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाखको आन्तरिक लेखापरीक्षण गरेको थियो । आन्तरिक लेखापरीक्षणबाट निस्किएको बेरुजु कुल निकासा तथा खर्चको दुई दशमलव ११ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रक सुमनराज अर्याल भन्छन्–

बेरुजुको यो अंकले सरकारी निकायहरूमा आन्तरिक नियन्त्रण प्रणाली तथा कानुनको परिपालना स्तर कमजोर रहेको देखाएको छ ।

 

कार्यालयले कुल बेरुजु अंकलाई नियमित गर्नुपर्ने, म्याद नाघेको र असुलउपर गर्नुपर्ने गरी तीन भागमा वर्गीकरण गरेको छ, जसअनुसार म्याद नाघेको पेस्की १७ अर्ब ७१ करोड ५८ लाख, नियमित गर्नुपर्नेतर्फ ६ अर्ब ९५ करोड ७३ लाख र असुलउपर गर्नुपर्ने ५९ करोड १९ लाख रुपैयाँ छ ।

कर राजस्वको ठूलो हिस्सा भने आन्तरिक लेखापरीक्षणको दायरामा छैन । गत आवमा नौ खर्ब ७६ अर्ब ३२ करोड राजस्व संकलन भएकामा त्यसतर्फको बेरुजु ०.०२ प्रतिशत अर्थात् २३ करोड ६१ लाख मात्र छ ।

गत आवको बेरुजु अंक अघिल्लो आव ०७६/७७ को तुलनामा दोब्बरभन्दा बढी हो । आव ०७६/७७ मा ११ अर्ब ३९ करोड ९७ बेरुजु देखिएको थियो । गत आवमा उक्त बेरुजु अंक १३ अर्ब ८६ करोड ५३ लाख अर्थात् १२१.६२ प्रतिशतले बढेको छ । महालेखानियन्त्रक सुमनराज अर्याल यसलाई आन्तरिक लेखापरीक्षण प्रभावकारी बन्दै गएको रूपमा अथ्र्याउँछन् । ‘बेरुजुको यो अंकले सरकारी निकायहरूमा आन्तरिक नियन्त्रण प्रणाली तथा कानुनको परिपालना स्तर कमजोर रहेको देखाएको छ,’ महालेखानियन्त्रक अर्यालले बताए ।

गत आवमा कार्यालयले चार हजार सात सय ११ कार्यालयका १५ हजार पाँच सय ५७ बजेट उपशीर्षकको आन्तरिक लेखापरीक्षण गरेको थियो । कार्यालयले प्रदेश तथा स्थानीय तहको पनि आन्तरिक लेखापरीक्षण गरेको छ । ६ सय एक स्थानीय तह र प्रदेश कार्यालयहरूको लेखापरीक्षण गरिएको कार्यालयले जनाएको छ । तर, यसले स्थानीय तह र प्रदेशको सम्पूर्ण कारोबार तथा आन्तरिक लेखापरीक्षणलाई समेटेको छैन । प्रदेश र स्थानीय तहलाई आफैँ आन्तरिक लेखापरीक्षण गर्न पाउने अधिकार छ ।

‘महालेखानियन्त्रक कार्यालयले नेपाल सरकारका कार्यालयहरूको आलेप गराउने हो, हामीलाई प्रदेश र स्थानीय तहको आन्तरिक लेखापरीक्षण गर्ने म्यान्डेट छैन,’ कार्यालयका सहमहालेखानियन्त्रक उमाकान्त आचार्यले भने, ‘संघले सीधै अख्तियारी दिएको हकमा मात्र हामीले प्रदेश र स्थानीय तहमा आन्तरिक लेखापरीक्षण गर्छौँ ।’

बेरुजु अंकसहितको यो आन्तरिक लेखापरीक्षण प्रतिवेदन महालेखानियन्त्रक अर्यालले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई बुझाइसकेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा व्यवस्था भएअनुसार कार्यालयले आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाएको हो ।

कार्यालयले नियमितता, कार्यदक्षता, प्रभावकारिता र मितव्ययिताको अवधारणाअनुसार आन्तरिक लेखापरीक्षण गर्छ । यो प्रारम्भिक लेखापरीक्षण हो । महालेखापरीक्षक कार्यालयले औचित्यसमेतका आधारमा अन्तिम लेखापरीक्षण गर्छ । महालेखाले अन्तिम लेखापरीक्षण गर्दा आन्तरिक लेखापरीक्षणलाई पनि आधार बनाउँछ । संवैधानिक अधिकार र दायरासमेत बृहत् भएकाले महालेखापरीक्षक कार्यालयले गर्ने लेखापरीक्षणमा लेखापरीक्षण अंक र बेरुजु दुवैको आकार ठूलो हुन्छ । चालू आवदेखि भने त्रैमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था भएको कार्यालयले बताएको छ । जसअनुसार अहिले तयारी भइरहेको कार्यालयको भनाइ छ ।

तथ्यांकमा आन्तरिक लेखापरीक्षण
– गत आवमा निकासा तथा खर्च भएको ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाखको आन्तरिक लेखापरीक्षण, २५ अर्ब २६ करोड ५० लाख बेरुजु

– कुल निकासा तथा खर्चको २.११ प्रतिशत बेरुजु

– कुल बेरुजु अंकलाई नियमित गर्नुपर्ने, म्याद नाघेको र असुलउपर गर्नुपर्ने गरी तीन भागमा वर्गीकरण, म्याद नाघेको पेस्की १७ अर्ब ७१ करोड ५८ लाख, नियमित गर्नुपर्नेतर्फ ६ अर्ब ९५ करोड ७३ लाख र असुलउपर गर्नुपर्ने ५९ करोड १९ लाख

– कर राजस्वको ठूलो हिस्सा भने आन्तरिक लेखापरीक्षणको दायरा बाहिर

गत वर्ष एक खर्ब सात अर्ब बचत
– सरकारले प्राप्तिको तुलनामा कम खर्च गर्दा आव ०७७/७८ मा एक खर्ब सात अर्ब बचत भएको छ । मंगलबार सार्वजनिक गरिएको आव ०७७/७८ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनले अघिल्लो आवमा सरकारी सञ्चित कोष धनात्मक भएको देखाएको हो ।

– प्रतिवेदनले आव ०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख खर्च भई एक खर्ब सात अर्ब १६ करोड ५४ लाखले सञ्चित भएको देखाएको छ । सरकारले त्यो वर्ष १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा आठ खर्ब ८८ अर्ब एक करोड ४२ लाख राजस्व संकलन भएको थियो । अन्य स्रोत भने वैदेशिक ऋण र अनुदान रहेका छन् ।

– गत आवमा भएको कुल खर्चको १७.६८ प्रतिशत स्रोत वैदेशिक ऋण र अनुदानबाट व्यहोरिएको देखिएको छ । त्यसमध्ये १४.६४ प्रतिशत वैदेशिक ऋणबाट र ३.४ प्रतिशत स्रोत वैदेशिक अनुदानबाट व्यहोरिएको हो । सरकारले आर्थिक वर्ष ०७७/७८ मा कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको बजेट ल्याएको थियो । जसको ८१.१५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको महालेखानियन्त्रकको कार्यालयको प्रतिवेदन छ । कुल खर्चमा नेपाल सरकारको स्रोतबाट ८२ दशमलव ३२ प्रतिशत व्यहोरिएको छ । (नयाँपत्रिका दैनिकमा समाचार छ)