• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

यु–१९ फुटबलमा भारतद्वारा अफगानिस्तान पराजित



काठमाडौँ, भदौ । पहिलो १९ वर्ष मुनि (यु–१९)को साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’को खेलमा भारतले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा आज भएको खेलको १०औँ मिनेटमा नै भारतका कमलप्रीतसिंह ग्रेवालले हेडिङमार्फत सुन्दर गोलगर्दै मध्यान्तरअघि आफ्नो टोलीलाई १ गोलको अग्रता दिलाएका थिए । मध्यान्तरपछि ८७ औँ मिनेटमा अनिरुध थापाले गोल थपेपछि भारतको जीत सुनिश्चित भयो ।
यसअघि, अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरिसकेको छ भने भारतको यो पहिलो खेल थियो । समूह ‘बी’मा दुवैको तीन÷तीन अङ्क भएको छ । समूह ‘ए’ को पहिलो खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शनिबार भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
जारी प्रतियोगितामा नेपाल र बङ्गलादेशले समान ३÷३ अङ्क जोडेका छन् । आफ्नो दोस्रो खेलमा नेपालले समूह विजेता हुनका लागि हुने खेलमा सोमबार बङ्गलादेशको सामना गर्दैछ ।
दक्षिण एसियाली छ राष्ट्रले भाग लिएको यस प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, माल्दिभ्स र अफगानिस्तान परेका छन् । रासस