१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक वन–जीवजन्तु संरक्षणमा



अ+ अ-

म्याग्दी, भदौ ८ । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भुमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई आफ्नो समूहद्वारा संरक्षित वन क्षेत्रमा सुरक्षा दिएर विद्यार्थीका लागि अध्ययनका विषय बनाइदिएको छ ।

सो विषयमा समूहका सल्लाहकार रत्नवम मल्लले जङ्गलमा पूरै बारको घेरा लगाएर जनावर पक्षीको संरक्षण गरिएको बताउनुभयो ।

मल्लले भन्नुभयो– “जनावरले आफू तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।”

गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका बगरफाँट र भुमेनाथ सामुदायिक वनले मयुर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायतका जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।

यसैगरी म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर ससाना चिडियाखानाका रूपमा संरक्षित वन क्षेत्रलाई विकास गराउने प्रयत्न गर्दै आएको छ । रासस