• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय ★   सहकारी प्रकरणमा काग्रेस नेता शिवाकोटीको दाहाल र ओलीलाई प्रश्न ★   भारतको काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता ★   धादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु ★   यातायात व्यवसायी राष्ट्रिय महासंघ यातायातमा सिण्डिकेटको पक्षमा छैन: अध्यक्ष स्वाँर ★   विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन: मन्त्री श्रेष्ठ ★   सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो? ★   आईपीएलमा आज कडा टक्कर: पहिलो स्थानको लागि कोलकाता र राजस्थान भिड्दै ★   इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो ★   दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या



ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको छ ।

ताप्लेजुङ–८ दोखुमा पर्ने खोक्सेखोला छेउमा पहिरो अझै निरन्तर झरिरहेको छ । ताप्लेजुङ–कावेली सडक खण्डका विभिन्न ठाउँमा सानातिना दर्जनौँ पहिरो झरेका छन् ।

खोक्सेखोला नजिकै सडकमाथिबाट झरेको ठूलो पहिराले करिब ३० मिटर सडक पुर्दा बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए ।

उप्रेतीका अनुसार पहिरो शनिबार बिहानसम्म झरिरहेको र सडकको पूरै भाग पुरिएर तलसम्म पुगेको छ । दुई दिनअघि सोही ठाउँमै झरेको पहिरो करिब सात घन्टा लगाएर पन्छाइएको थियो ।

पहिरो निरन्तर झरिरहेकाले तत्काल यन्त्र लगाएर पन्छाउन नसकिने उप्रेतीले बताए ।

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजमार्गमा यातायातका साधन नचलेकाले यात्रु भने अलपत्र छैनन् । निजी सवारी साधन, मोटरसाइकलमा यात्रा गर्ने र पैदल यात्रुका लागि समस्या भएको छ ।

ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत ताप्लेजुङदेखि कावेलीसम्म विभिन्न ठाउँमा वर्षातका समयमा बर्सेनी पहिरो खस्ने भए पनि सडक डिभिजन कार्यालय इलामले यो क्षेत्रमा पहिरो पन्छाउन आवश्यक जनशक्ति नखटाउँदा र यन्त्रको समेत प्रयोग नगर्ने भएकाले सानातिना पहिरो झर्दा समेत लामो समयसम्म बाटो अवरुद्ध हुने गरेको छ ।

जिल्लाका विभिन्न ग्रामीण सडकखण्डसमेत पहिरोकै कारण अवरुद्ध बनेका छन् । सिनाम, आम्वेगुदिन, फुरुम्वोलगायत ठाउँमा जाने कच्ची सडकका विभिन्न ठाउँमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् । रासस