३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

जुन फोटोले गणतन्त्रको धज्जी उडायो !

जुन फोटोले गणतन्त्रको धज्जी उडायो !
अ+ अ-

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैँको टीका लगाइदिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटोमा राष्ट्रपति भण्डारी पहिलेका राजा महाराजा जस्तो रवाफी शैलीमा सोफामा हुनुहुन्छ । पराजुली राजा महाराजाको हातबाट टीका थाप्न पुग्ने सर्वसाधारण नागरिकझैं दुवै घुँडा टेकेर बस्नुभएको छ । मन्द मुस्कानसहित राष्ट्रपतिले टीका लगाइदिनुभएको छ, उस्तै मुस्कानमा पराजुलीले टीका र आशीर्वाद थापिरहनुभएको छ ।

पराजुलीले मात्र होइन, उपराष्ट्रपति र प्रधानमन्त्री बाहेक राष्ट्रपतिकोमा टीका थाप्न जाने सबैले यसैगरी घुँडा टेक्नुपर्यो । टीका लगाउन जानेहरुले राष्ट्रपतिलाई पहिलेका राजा महाराजा होईन, आफूजस्तै एक, तर विशिष्ठ नागरिक सम्झेका थिए । तर राष्ट्रपति भने दरबारी रवाफमा देखिनु भयो । यो उहाँको आफ्नो चाहना हो वा राष्ट्रपति कार्यालयको व्यवस्थापन गर्नेहरुको चाहना हो भन्ने कुरा त थाहा हुँदै जाला, तर टीका थाप्ने र लाउनेको दृश्य हेर्दा राष्ट्रपतिको अघिल्तिर सबैले घुँडा टेकून् भन्ने कसै न कसैको चाहना छ भन्ने चाहिँ स्पष्टै बुझियो ।

टीका लगाइ दिने राष्ट्रपति सोफामा बस्नुभएको थियो । उहाँको दाहिनेतिर अक्षता र जमरा भएको थाली थियो । राष्ट्रपतिको अघिल्तिर पनि बस्ने कुर्सी वा होचो मेच सम्म भएको भए टीका थाप्नेहरुले घुँडा टेक्नुपर्ने थिएन । उपराष्ट्रपति र प्रधानमन्त्रीले टीका थाप्ने बेला चाहिँ यसैगरी कुुर्सी राखिएको थियो । त्यसैले टीका लगाउनेबेला उनीहरुले घुँडा टेक्नुपरेन ।

तर उपराष्ट्रपति र प्रधानमन्त्री बाहेकका नागरिकले टीका लगाउने बेला कुर्सी त थिएन नै । एउटा मुढा, पिर्का वा मेच पनि राखिएन । बस्ने कुर्सी नभएपछि सोफामा बस्नुभएकी राष्ट्रपतिको हातबाट टीका लगाउँदा कि उभिएरै निहुरिनु पर्दथ्यो, कि घुँडा नै टेक्नुपर्दथ्यो । निहुरिनुभन्दा घुँडा टेक्न सजिलो भयो । अरुले जस्तै पराजुलीले पनि यसै गर्नुभयो ।

राष्ट्रपति, उहाँका सल्लाहकार तथा सहयोगीहरुलाई यो दृश्य सामान्य लाग्यो होला । तर देख्ने, सुन्ने र भोग्नेहरुका लागि यो पहिलेका राजा महाराजाहरुकै पालाको रवाफी शैली हो ।

उपराष्ट्रपति र प्रधानमन्त्रीले टीका थाप्ने बेला बसेको कुर्सीमा अरु बस्न हुँदैन भन्ने लागेको भए अर्को कुर्सी राख्न सकिन्थ्यो । के त्यहाँ सबै नागरिक आफ्नो टाउको निहुराउन मात्र गएका थिए ? के नेपालको राष्ट्रपति संस्थाप्रति आस्था भएर टीको लाउन जाने कोही थिएनन् ? के गणतन्त्रको राष्ट्रपतिबाट टीका लाउन जाने नागरिकले यसैगरी निहुरिनु पर्छ भन्न खोजिएको हो ?

अथवा राष्ट्रपति भनेको पहिलेका राजा महाराजाकै निरन्तरता हो र त्यही शैलीमा टीका लगाइदिनुपर्छ भन्ने हो ? राष्ट्रपतिको नजिक पर्दा निहुरिनु या घुँडा टेक्नुपर्छ ? जनबलमा आएको गणतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री र नागरिकको टाउकोको पनि अलग अलग स्थान हुन्छ ? राष्ट्रपति र प्रधानमन्त्रीले पहिलेकै राजाहरुको शैली र रवाफ देखाउने हो भने परिवर्तन किन र कसका लागि ?

पराजुलीले घुँडा टेकेर राष्ट्रपतिको हातबाट टीका लगाएको फोटो देख्दा धेरैको मनमा यस्तै प्रश्न उब्जेको छ । दोस्रोपटक राष्ट्रपति चयन भएपछि भण्डारीले प्रधानन्यायाधीशको हैसियतमा पराजुलीबाटै राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिनुभएको हो । पराजुली प्रधानन्यायाधीशबाट पदमुक्त हुनुभयो । तर पदमुक्त भए पनि आफूलाई शपथ खुवाउने मान्छेलाई घुँडा टेकाएर टीका लगाइदिंदा राष्ट्रपति भण्डारीलाई पनि अप्ठ्यारो लाग्नुपर्ने हो । पराजुलीलाई मात्र होइन, अरु नागरिकलाई पनि यस्तो शैलीमा टीका र आशीर्वाद दिंदा आफ्नो पनि शीर निहुरियो भन्ने हेक्का उहाँलाई हुनुपर्ने हो । तर फोटो हेर्दा उहाँलाई अलिकति पनि यस्तो लागेको देखिंदैन ।

घुँडा टेकेको र निहुरिएको मान्छेलाई टीका लगाईदिंदा आफ्नो पनि शीर निहुरिन्छ, राष्ट्रपतिको पनि निहुरिएको छ । राष्ट्रपति भण्डारी सर्वसाधारण नागरिककै छोरी हुनुहुन्छ । नागरिकले नै भोट दिएर पठाएका जनप्रतिनिधिले उहाँलाई राष्ट्रपतिमा चयन गरेका हुन् । उहाँ पहिलेका राजा महाराजाको सन्तान होईन र उहाँले त्यसो गर्न आवश्यक पनि छैन । जानेर या नजानेर राजा महाराजाहरुको शैली र रवाफ उहाँले देखाउन मिल्दैन । तर दसैँको यो फोटोले उहाँबाट यस्तै रवाफ देखाएको देखियो ।

राष्ट्रपतिबाट जानेरै यस्तो भएको होइन होला । सल्लाहकार र सहयोगीको ध्यान नपुग्दा राष्ट्रपति फेरि विवादमा तानिनुभएको छ । राष्ट्रपतिको ध्यान नपुग्ने यस्तै कुरामा सहयोग तथा सल्लाह दिने काम सल्लाहकार र सहयोगीको हो । चर्चित मानव अधिकारकर्मीदेखि नियमकानुनका ज्ञाता नै राष्ट्रपतिका सल्लाहकार छन् । तर टीकाका दिनको फोटो हेर्दा त, राष्ट्रपति कार्यालयमा हुने सामान्य कार्यक्रमको व्यवस्थापन गर्नको लागि उचित सल्लाह समेत दिन उनीहरु चुकेका छन् ।

टीका लगाइदिंदा सामान्य कुराको पनि ख्याल नगर्ने राष्ट्रपति र उहाँलाई उचित रायसल्लाह दिने जिम्मेवारी पाएका सल्लाहकार तथा सहयोगीले बुझ्नुपर्छ – पराजुली र सर्वसाधारण नागरिकको शीर निहुर्‌याएर र घुँडा टेक्न लगाएर तिनीहरुको टाउको निहुरिने अवस्थामा देशको राष्ट्रपतिको पनि शीर ठाडो हुँदैन ।