काठमाडौं,२९ कात्तिक– श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको खबर छ ।
बिहीबार संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि नै आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।
राजापाक्षेले बिहीबार संसद बैठकमा आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जैसूर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताएका थिए । तर प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतको आधारमा अविश्वास प्रस्तावको निर्णय गर्न नहुने बताएका थिए ।
राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो । राजापाक्षेका समर्थकहरु संसद हलको बीचमा भेला भएका थिए । केही सांसदहरु भने सभामुखविरुद्ध नारावाजी गर्दै अगाडि बढेका थिए । करिब तीन दर्जन सांसदबीच झडप भएको थियो । धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए तीमध्ये केही सांसद कुटपिटबाट भुइँमा लडेका थिए ।
राजापाक्षे समर्थक सांसदहरुले सभामुखलाई पानीको बोतल, किताब आदिले समेत हिर्काएका थिए । राजापाक्षेका विरोधी सांसदहरुले सभामुख कारु जैसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।