१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ, ३ मङ्सिर (रासस) – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ । मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत भीड लाग्ने गर्छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुन्छ । यस वर्ष बृहस्पति अस्त भए पनि प्रत्येक वर्ष गरिने चतुर्मास व्रत समापन गर्न हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।