३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम – आगामी जेठभित्र उडानयोग्य

गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम – आगामी जेठभित्र उडानयोग्य
अ+ अ-

–रमेश लम्साल

भैरहवा, ६ मङ्सिर (रासस) – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।

हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमी धावनमार्गमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यही गतिमा काम भएको खण्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्रे काम सकिनेछ । धावनमार्गमा तीन तहको कालोपत्रे गर्नुपर्ने भएकाले पहिलो चरणको काम सकिएपछि क्रमशः दोस्रो र तेस्रो चरणको कालोपत्रे गर्न १५÷१५ दिनको समय लाग्नेछ ।

विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आयोजनाको कूल लागत मूल्य अभिवृद्धि करसहित रु छ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रहेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार हाल निर्माण व्यवसायीले दुई वटा अलकत्रा र गिट्टी घोल्ने यन्त्र जडान गरेर धावनमार्गमा कालोपत्रे गरिरहेको छ ।

सन् २०१९ को जुन २८ सम्म सञ्चालन योग्य बनाउने गरी काम भइरहेको छ । राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगति न्यून र आशातीत रुपमा राम्रो नभइरहेको अवस्थामा गौतमबुद्ध विमानस्थलको काम लोभलाग्दो तवरले भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दैनिकजसो नै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी लिने र समस्या आए समाधान पनि तत्काल नै गर्ने गर्नुभएको छ ।

स्थलगत निरीक्षणका लागि बुधबार विमानस्थल पुग्नुभएका मन्त्री अधिकारीले आयोजना प्रमुख अधिकारीलाई सोध्नुभयो, “समस्या के छ, अहिल्यै भनी हाल्नुस् ।” आयोजना प्रमुखले तत्काल खासै समस्या छैन भन्दै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी गराउनुभयो । आयोजना प्रमुख अधिकारीले भन्नुभयो, “सामान्य रुपमा निर्माण व्यवसायीलाई भुक्तानी दिन केही रकमको अभाव छ, अरु त सबै काम युद्धस्तरमा भइरहेको छ ।”

उहाँका अनुसार एक दर्जन बढी निर्माण उपकरण धावनमार्ग कालोपत्रे गर्न परिचालन गरिएको छ । विमानस्थलको अन्य भौतिक निर्माणको कामसमेत द्रुतगतिमा नै अगाडि बढाइएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, कार्यालय भवन, विद्युत् सवस्टेशन, अग्नि नियन्त्रक कक्ष, पानी ट्याङ्की, सुरक्षाकर्मीको आवासगृहको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

कूल तीन हजार मिटर लामो धावन मार्गको कालोपत्रे सकिएपछि आयोजनाको भौतिक प्रगति ७० प्रतिशत माथि पुग्ने दाबी गर्दै आयोजना प्रमुख अधिकारीले भन्नुभयो, “सरकारको चासो, राष्ट्रिय आवश्यकताका आधारमा पनि हामी तोकिएको समयअगावै विमानस्थल निर्माण सम्पन्न गर्छौं ।”

ट्याक्सी वे को निर्माण भने सम्पन्न भइसकेको छ । सञ्चालनमा रहेको धावनमार्गलाई समेत उपयोग गर्ने नीति लिइएको छ । उहाँका अनुसार धावनमार्ग, अन्तर्राष्ट्रिय एप्रोन तथा अन्य भौतिक निर्माणको कामसँग एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । सो विमानस्थलमा बोइङ ७७७–२०० सम्मका जहाज उडान तथा अवतरणलाई योग्य हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत विकल्पमा सो विमानस्थललाई सञ्चालनमा ल्याउन सकिनेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको र कुनै पनि समस्या हुन नदिइएको मन्त्री अधिकारीको भनाइ थियो । “हामीले नियमित अनुगमन गरिरहेका छौँ, सामान्यदेखि जटिल समस्यासमेत समाधान गरिएको छ, आयोजना, निर्माण व्यवसायी, परामर्शदाता तथा अन्य सरोकार भएका सबै निकायलाई पनि उत्तिकै परिचालन गरिएको छ । आशा गरौँ, आगामी जेठभित्र सो विमानस्थल सञ्चालनमा आउनेछ ।”

धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानका लागि समेत बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ । बोलपत्रको प्रक्रिया पनि केही दिनभित्रै टुङ्गो लाग्नेछ । विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महीनाभित्र सकिने छ । विमानस्थल परिसरमै रु एक अर्ब लागतको कार्गो भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाका लागि थप ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । हालसम्म अधिग्रहण गर्न रु १० अर्ब खर्च भइसकेको छ । बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिनेछ । सञ्चालनमा रहेको धावनमार्गलाई पार्किङस्थल बनाएर निर्माणाधीन धावनमार्ग नै सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्री अधिकारीको भनाइ थियो । सन् २०१९ सम्ममा त्यहाँबाट अन्य गन्तव्यमा समेत उडान गरिनेछ ।

निर्माण व्यवसायी चिनियाँ कम्पनी ग्रुपका परियोजना निर्देशक सुइले पनि विमानस्थल निर्माणमा कुनै पनि समस्या हुन नदिन आफूहरु प्रयत्नशील रहेको र तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । “हामी प्रयत्नशील छौँ, सबै प्रकारको क्षमताको उपयोग गरेका छाँै, प्रगति असाध्यै राम्रो भइरहेको छ । यो काम मात्रै होइन नेपाल चीन सम्बन्धलाई नयाँ उचाइमा उठाउने अभिभारा पनि हो” सुइले भन्नुभयो ।

भैरहवा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न र भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्नसमेत सहयोग पुग्नेछ ।