४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ज्याकेटको चर्चा !



अ+ अ-

न्युजपोलार समाचारदाता

काठमाडौंं, ११ मंसिर । मंगलबार बिहानैदेखि राजधानीमा ज्याकेटको चर्चा शुरु भएको छ । तर त्यस्तो ज्याकेटको चर्चा जाडोका कारणले भएको भने होइन । मंगलबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टको तस्वीरसहित ‘ज्याकेट विज्ञापन’ छापिएका कारणले सो चर्चा भएको हो । बिहान अकस्मात अखबारहरु हेर्दा यस्तो अवस्था देखियो । नयाँ युगको शुरुआत भइसकेको सन्देश सो विज्ञापनमा छ । कतिले त बुझ्दै बुझेनन् भने केहीले आज देखि शुरु हुने सबैको लागि योगदानमा आधारित पेन्सनको विषयलाई प्रचारमा ल्याइएको भनी बुझेका थिए । हुन पनि त्यही हो । अनलाइनहरुमा पनि ‘रोड ब्लक’ प्रकाशित भए । काठमाडौंका गल्लीमा समेत प्रधानमन्त्रीको तस्वीरसहित पोलहरुमा टाँगिएका तुलमा लेखिएको देखियो– नयाँ युगको सुरुवात । त्यसैको विज्ञापन अखबारमा ज्याकेट स्वरुपमा छापिएको हो ।
तर नागरिकले भने योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम गरिब, मजदुरहरुका लागि भएको भए पनि लागू गर्ने क्रममा सरकारले तडक–भडकका साथ प्रचार–प्रसार गरेको भनी आलोचना पनि गरेका छन् । कतिले यसरी प्रधानमन्त्रीको नभएर तिनै मजदुरहरुको फोटो छापेको भए पनि हुने थियो नि भनेर पनि चर्चा थालेका थिए । मंगलबार (आज) काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युग’ को औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको पनि सरकारले बताएको छ । यसलाई धेरैले भने राष्ट्रिय उपलब्धिका रुपमा लिएका छन् । उद्योगी व्यवसायी तथा अरु निजी क्षेत्रका उद्यमीहरुले नेपालमा यस्तो सामाजिक सुरक्षाको प्रबन्धका लागि योगदान गर्न तयार रहेको बताएका छन् । उनीहरु उत्साहित भएकोले यो कार्यक्रम सफल हुने अनुमान गरिएको छ ।
के सरकारले दाबी गरेजस्तै आजैदेखि नेपालमा ‘नयाँ युगको सुरुवात’ भएको हो त ? श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भनेका छन्– हो, नेपालमा नयाँ युगको शुरुआत भएकै हो । नेपालमा यो पहिलो पटक र निकै ठूलो उपलब्धिको कुरा भएकोले गरिएको प्रचारलाई अन्यथा लिन नहुने बताए । साथै उनले त्यो विज्ञापनका लागि पूरै खर्च सरकारको मात्र नभएर निजी क्षेत्रको हो भनेका छन् । उनले भने– यसमा सरकारको छैन नै भन्न त मिल्दैन तर नगण्य मात्र सरकारको छ ।

 

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत – प्रम ओली

काठमाडौँ, ११ मङ्सिर (रासस) – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभएको छ । सन्देशमा उहाँले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

उहाँले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गर्नुभएको छ । मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सुरक्षा योजना शुभारम्भ गर्नुहुनेछ । यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भन्नुभएको छ । उहाँले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिल गर्नुभएको छ ।