• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

काङ्ग्रेसको जिल्ला सभापतिको भेला ककनीमा शुरु



नुवाकोट, १२ मङ्सिर : नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको दुई दिने भेला आजबाट ककनीमा शुरु भएको छ ।

प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेसका जिल्ला सभापति नुवाकोटको ककनीमा भेला भएका हुन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले केन्द्रीय समितिमा गत आइतबार बुझाएको विधान मस्यौदामाथि छलफल गर्न भेला आयोजना गरिएको नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

जिल्ला सभापतिकै पहलमा भएको यो भेलामा काङ्ग्रेसका कोही पनि केन्द्रीय नेता सहभागी नभएको जिल्ला सभापति केसीले बताउनुभयो । “विधानमाथि छलफल गर्न विशुद्ध सभापतिको मात्र भेला हो । यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न ।”, उहाँले भन्नुभयो ।

विधान मस्यौदा समितिले तयार पारेको विधानमा उल्लेखित सङ्गठनात्मकलगायत विभिन्न विषयमा संशोधनको लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको जिल्ला सभापति केसीको भनाइ छ ।

काङ्ग्रेसको महासमितिको बैठक आगामी पुस २० गतेबाट हुने तय भएको छ । महासमितिले विधान दुई तिहाइले पारित गरेपछि मात्र नयाँ विधान लागू हुने भएकाले महासमितिमा जिल्ला सभापतिको धारणा समान बनाउन ककनी भेलाले सहयोग पुग्ने काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताउनुभयो ।