१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौन्दर्यकी खानी बराहपोखरी



अ+ अ-

खोटाङ, १६ मङ्सिर: चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ ।

पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा पनि पाइने हुँदा यहाँ पर्यटकको आकर्षण बढेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोष दक्षिणमा पर्ने ‘बराहपोखरी’ लाई सौन्दर्यकी रानीको रूपमा लिइन्छ । झण्डै पा“च किलोमिटर क्षेत्रफल ओगटेको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्छ ।

परापूर्वकालमा एउटा घरको अगेनाबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहा“बाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर ताल बनेकाले यसलाई बराहपोखरी भनिएको किंबदन्ती छ ।

दुई दिन पैदल यात्रा गरेर दिक्तेल बजारदेखि टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोलापारी बराहपोखरी पुगिन्छ । यसैगरी उदयपुरबाट खोटाङ हुँदै र उदयपुरको सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाँध हुँदै पनि त्यहाँ पुगिन्छ ।

बराहपोखरीमा स्थानीय शैलीका होटल प्रशस्त रहेकाले बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुललगायत परिकारहरू प्रशस्तै पाइन्छन् ।

उक्त पोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास छ । बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने जनविश्वासका साथै शान्तिको कामनाका लागि जोडी परेवा उडाउने पनि गरिन्छ ।

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजा गरे सन्तान पाइने जनविश्वास पनि छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन सत्बीज छर्ने गरिन्छ ।

प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाको धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३०० को हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । यस वर्षको मेलामा मात्रै डुङ्गा सयर गर्ने पर्यटकबाट रु ६० हजार सङ्कलन गरिएको पोखरी व्यवस्थापन समितिले जनाएको छ ।

हालै नेपाल सरकारले देशका १०० गन्तव्यस्थलमध्ये यो पोखरीलाई एक गन्तव्यस्थलको रूपमा घोषणा गरेकाले यस जिल्लाको पर्यटन विकासका लागि यो घोषणा कोशेढुङ्गा साबित भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई बताउनुहुन्छ ।

आव २०७३÷७४ मा यस पोखरीको पूर्वाधार विकासका लागि उहाँले संसदीय विकास कोषबाट ६० लाख उपलब्ध गराउनु भएकामा त्यसबाट बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको थियो ।(रासस)