काठमाडौँ — नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी ओलीले अाज बैठक बाेलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक बोलाइएको हो । यस बैठकमा नयाँ प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस हुने छ । प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम न्याय परिषद्ले एक साताअघि नै संवैधानिक परिषद्लाई बुझाएको छ। प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ। जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन।








