काठमाडाैं, १७ मंसिर । नेपाल अायल निगमले साेमबार राति १२: ०० बजे देखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा रु. २ प्रति लिटर घटाएकाे छ । स्वचालित मूल्य प्रणालीद्वारा मूल्य घटाई समायोजन गरिएको निगमकाे भनाइ छ ।
समायोजन बमोजिम काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोल रु. ११२.०० प्रति लि., डिजेल / मट्टितेल रु. ९९ प्रति लि. र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत राखिएको निगमले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले पेट्रोलियम पदार्थको कारोबारमा हाल निगमलाई धेरै राहत मिलेको छ । हाल कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने नेपाल आयल निगमद्वारा साेमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यो समायोजन पश्चात् पनि भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा रु. १२.३२ प्रति लिटरले र डिजेल रु. १५.७१ प्रति लिटरले नेपालतर्फ नै अझै सस्तो छ ।
निगमले विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी एक महिनामा नै निगमलाई २ अर्व भन्दा बढी घाटा समेत भई यस चालु आ.व.को हालसम्म करिब रु. ३ अर्व ८४ करोड घाटा भइसकेको जनाएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, स्मरण रहोस् खरीद मूल्य अत्यधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदीय समितिको चाडवाडको बखत पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भई आएकोलाई निगमले पनि गम्भीरतापूर्वक लिई मूल्य वृद्धि गरेको थिएन । डिसेम्बर १, २०१८ देखि १५ दिनको लागि लागू हुने नयाँ मूल्य एवं रु. २ प्रति लि. घटाई समायोजन गरे पश्चात् पेट्रोलमा प्रति लि. रु. ११.४४ नाफा¸ डिजेलमा प्रति लि. रु. ५.८१ नाफा र एल.पि. ग्याँसमा प्रति सिलिण्डर रु. २८४.८३ घाटा रहनेछ ।
समग्रमा नाफा/घाटा मिलाउँदा आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुने निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले बताउनुभयाे ।