२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक जग्गामा सञ्चालित पेट्रोलपम्प बन्द



अ+ अ-

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ । मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोलपम्प बन्द गराएको हो ।

विगत १०-१२ वर्षदेखि सार्वजनिक जग्गा मिचेर सञ्चालन हुँदै आएको स्टोर्सलाई पटक–पटक उक्त ठाउँबाट हट्न आग्रह गरे पनि अटेर गरेपछि बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गको १० मिटर छेउमै सञ्चालित पेट्रोलपम्पले गर्दा बजार व्यवस्थापन गर्ने अभियानमा असहज भएपछि पेट्रोलपम्प बन्द गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजार व्यवस्थापन गर्नका लागि स्थानीयवासीले पनि उक्त पेट्रोलपम्प त्यहाँबाट हटाउनुपर्ने माग राखेका थिए । पेट्रोलपम्पकै कारण बजार क्षेत्रमा सार्वजनिक सवारीसमेत अस्तव्यस्त हुने गरेको थियो ।”

सार्वजनिक जग्गाबाट पेट्रोलपम्प हटाउन यसअघि नेपाल आयल निगम, सडक डिभिजन कार्यालय तनहुँ र गाउँपालिकाले पटक–पटक आग्रह गरेको थियो । सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा गाउँपालिका रहेकाले अन्य ठाउँका अतिक्रमित संरचनासमेत क्रमशः हटाउँदै जाने थापाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले केही समय अघिदेखिनै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहरा भत्काउने अभियान शुरु गरिएको जानकारी दिनुभयो । स्टोर्सका सञ्चालक राजकपुर पियाले भने बिना जानकारी गाउँपालिकाले पेट्रोलपम्प बन्द गराएको प्रतिक्रिया दिनुभयो ।

गुरुकुल सञ्चालनका लागि महायज्ञ

तनहुँको दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएपछि महायज्ञ आयोजना गर्ने भएको छ । गुरुकुल सञ्चालनार्थ रकम जुटाउने उद्देश्यले विद्यालयले यही मङ्सिर २९ गतेदेखि पुस ७ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको हो ।

विद्यालयका प्रधानाध्यापक तुलसीशरण सिग्देलले आर्थिक अभावमा गुरुकुल सञ्चालनका लागि समस्या भएकाले महायज्ञमार्फत अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

विद्यालयले गत वर्षदेखि सञ्चालन गरेको गुरुकुलमा ५५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको आवासदेखि खानपानको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । गुरुकुल सञ्चालनका लागि महर्षि फाउण्डेशनले मासिकरूपमा रु ५५ हजार उपलब्ध गराउँदै आए पनि आर्थिक अभाव रहेको सिग्देलले बताउनुभयो । उहाँका अनुसार गुरुकुल सञ्चालनका लागि मासिक रु एक लाख १० हजारभन्दा बढी खर्च हुने गरेको छ ।

“हालसम्म मुठ्ठीदानबाटै गुरुकुल सञ्चालनको खर्च व्यवस्थापन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसलाई दिगो बनाउन अक्षयकोष स्थापना गर्ने र अक्षयकोषबाट यसलाई सञ्चालन गर्ने उद्देश्य राखेका छौँ । महायज्ञबाट न्यूनतम रु ५० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।”

नियमित गौसेवा, भगवत्पुजन, रुद्राभिषेक, भावातीत ज्ञान, योग, १०८ बटुकका लागि अत्यावश्यक आवास तथा भोजन व्यवस्थापन गर्ने उद्देश्यसमेत विद्यालयले राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सोतीले बताउनुभयो ।

विद्यालयको रजतजयन्ती वर्ष समापन, २६ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर ज्ञानमहायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञको अवसरमा नै एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान, पूर्वशिक्षक एवं कर्मचारीलाई सम्मान, विद्यालय व्यवस्थापन समितिका सदस्य र पूर्वसदस्यलाई सम्मान, चन्दादाता, सहयोगदातालाई सम्मानलगायतका कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

साथै भागवत पूजाअर्चना, रुद्राभिषेक, सप्तशती, वेदादी पाठपारायण, ग्रहशान्ति, जप, नित्यवहन, श्रीमद्भागवत कथा प्रवचनलगायतका कार्यक्रम सञ्चालन हुने विद्यालयले जनाएको छ । रासस