४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बढ्दो शिकारका कारण मासिँदै कालिज

बढ्दो शिकारका कारण मासिँदै कालिज
अ+ अ-

बलेवा । यतिबेला बागलुङका वनहरुमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरु वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरु देखिन थालेका छन् । विशेष गरेर बस्ती नजीकैका वनहरुमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको हो ।

बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि शिकार गर्नेहरु देखिन थालेको बागलुङको मालिकाका टेक बहादुर कामीले बताए । बस्ती नजीकैका सामुदायिक वन र निजी वनहरुमा रहेका कालिजहरु मार्ने क्रम बढ्दै गएको छ । “पहिले पहिले हाम्रै आँगनमा कालिज खेल्थे,” कामीले भने – “आजभोलि छिटफुट बाहेक कालिजको बथान देख्न छोडिएको छ ।” शिकारीहरुले घरेलु हतियार र गुलेलीको प्रयोग गरेर कालिज मार्ने गरेका छन् । सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन् । लोपोन्मुख पन्छी भएकाले कालिज संरक्षणको अभियान थाल्नुपर्ने कामीले बताए । साँझपख मोटरसाइकलमा आउने शिकारीहरु कहाँबाट आउँछन् र शिकार गरेर कता जान्छन् भन्ने विषयमा कसैले चासो राखेका छैनन् ।

मालिकाका टेकबहादुरलाई जस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेराका भीमप्रसाद आचार्यलाई पनि कालिज हराउँदै गएकामा चिन्ता छ । नजीकै रहेका सामुदायिक वनहरुबाट आफ्नो खेतमा चर्न आउने गरेका कालिज आजभोलि निकै कम देखिन थालेको आचार्यको अनुभव छ । “हिउँद लागेपछि खाली भएको खेतभरि कालिज देखिन्थ्यो, आजभोलि एकाध मात्रै देख्न पाइन्छ,” आचार्यले भने – “साँझपख वन छेउछाउमा शिकारी देखिन थाले तर, कालिज हराउँदै गए ।” बथानमा देखिने कालिज एक–दुई वटा पनि देखिन मुश्किल हुँदै गएको छ ।

कालिज मानिसहरुले मासु खानकै लागि प्रयोग गर्ने गरेका छन् । यसको विशेष महत्व नरहेको भए पनि मासुको प्रयोगका लागि मानिसहरुले कालिजको शिकार गर्ने गरेको डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत सूर्य देवकोटाले बताए । कालिजको बासस्थान कैयौं दिनसम्म एकै ठाउँमा हुने भएकाले शिकारीहरुलाई सहज हुन्छ । “कालिज सोझो खालको पन्छी हो, रातको समयमा उसको बस्ने ठाउँ एउटै हुन्छ,” देवकोटाले भने – “‘उसको दिसाबाट बस्ने ठाउँ पहिचान गर्न सकिने भएकाले शिकार बढेको हो ।” बिना अनुमति वन्यजन्तु तथा पन्छीहरुको शिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी परेका छैनन् । वन कार्यालयले पशुपन्छीको शिकार भैरहेको क्षेत्रमा गस्ती गरेर नियन्त्रण तथा संरक्षण गर्ने गरेको छ ।

“हामीकहाँ उजूरी आए हामीले तत्कालै गस्ती बढाउँछौं,” देवकोटाले भने – ‘बिना जानकारी कसैको पछि लाग्न मिलेन ।” चेतनाको अभावमा पन्छीहरुको शिकार बढेको देवकोटाको भनाइ छ । सर्वसाधारणले आफ्नो सम्पत्तिको रुपमा कालिजको संरक्षण गर्नुपर्ने देवकोटाको सुझाव छ । कालिजको शिकार गरेको भेटेमा तत्काल डिभिजन वन कार्यालय वा नजीकको सव–डिभिजन कार्यालयमा जानकारी दिन पनि उनले आग्रह गरे ।
संरक्षित पन्छीको सूचीमा नरहेको भए पनि कालिज लोपोन्मुख पन्छी हो । कालिजको चोरी शिकारी गर्न प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी शिकार गर्ने क्रम बढ्दै गएको छ । जिल्लाको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालगायतका वन क्षेत्रमा पनि लुकिछिपी कालिजको शिकार हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । “वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कालिजको शिकार नियन्त्रण गर्न वन कार्यालयले नै ध्यान दिन जरुरी छ,” जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले भने – “‘हाम्रो नगरमा पनि कालिजको शिकार हुने गरेको भन्ने सुनेको छु । यसलाई नियन्त्रण गर्न जरुरी छ ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पन्छीहरुको चोरी शिकारीलाई दण्डनीय अपराध भनेको छ । ऐनअनुसार बिना अनुमति पन्छीहरुको चोरी शिकारी गरेको ठहरिएमा १ वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले भने – “नेपालमा एक मात्रै शिकार आरक्ष छ । त्यहाँ मात्रै अनुमति लिएर शिकार गर्न पाइन्छ । अन्य जुनकुनै वन क्षेत्रमा शिकार गर्नु दण्डनीय अपराध हो ।” बागलुङका वन क्षेत्रमा कालिजको सङ्ख्या कति छ भन्ने विषयमा भने डिभिजन वन कार्यालयसँग तथ्याङ्क छैन ।

कालिज नेपालमा पाइने एक जङ्गली चरा हो । यो चरा कुखुरा जस्तै हुने भएकाले यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भन्ने गरेको पाइन्छ । कालिज प्रायः पहाडी क्षेत्रको जङ्गलमा पाइन्छ । शिकारीहरूले कालिजको शिकार धेरै गर्न थालेपछि यो चरा लोप हुने अवस्थामा पुगेको छ । कालिजका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन् । वैशाख र जेठमा कालिजले चल्ला निकाल्ने वन विज्ञहरु बताउँछन् । मङ्सिर र पुसमा चल्लाहरू एक समूहमा बस्ने र फागुन लागेपछि भाले पोथीको अलग अलग जोडी बनाएर छुट्टिने स्वभाव हुने सहायक वन अधिकृत देवकोटाले बताए । जङ्गली जडीबुटी चरेको र मासुमा स्वाद हुने मान्यताका आधारमा एक किलोग्राम कालिजको मासु २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ । रासस