३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

कचकच होइन, कचिंगल गरौं

कचकच होइन, कचिंगल गरौं
अ+ अ-

काठमाडौँ — लामै कचकचपछि जहाँ राम त्यहीं अयोध्या भन्ने सुदीर्घ परम्परा त्यागेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ । कचकचपछि कचिंगल सुरु होलाजस्तो छ । कम्युनिस्ट पार्टीको जीवन र स्वास्थ्यका निम्ति आवश्यक पर्ने तहको कचिंगल सुरु भएको छैन ।

मुख्यत: पार्टीको विधि, नेतृत्वको कार्यशैलीउपर प्रश्नहरू तेर्सिने गरेको सञ्चारमार्फत हामी सबैले थाहा पाइरहेका छौं । बैठक बोलाइदिएर स्थायी समितिमा परेका कमरेडहरूको दीर्घम्यादी मागलाई सम्बोधन गरिदिएको सन्तुष्टिको भाव शिखर तहका नेतामा देखा पर्नु स्वाभाविकै हो ।

अपवादलाई छाडेर अधिकांश स्थायी समिति सदस्यहरूले उठाएका मुद्दा संगठन र संगठनात्मक सिद्धान्त अधीनका छन् । राजनीति र अझ समाजवादी राजनीतिक कार्यदिशा, कार्यक्रम र नाराहरू कचिंगलका मूल विषयहरू बन्न सकेका छैनन् । समाजलाई हाँक्ने मुख्य कुरा राजनीतिक कार्यदिशा हो । माक्र्सवादीहरू के कुरा स्वीकार गर्छन् भने समाज परिचालनको पिँधमा उत्पादन सम्बन्ध रहे पनि एकपटक कायम भएको उत्पादन सम्बन्धलाई भत्काएर नयाँ प्रकारको उत्पादनको संगठन गर्न राजनीतिक क्रान्ति आवश्यक पर्छ । राजनीतिक क्रान्तिले पुराना आर्थिक सामाजिक सम्बन्धहरूलाई विस्थापित गरेर नयाँ सम्बन्धको जग हाल्छ । राजनीतिक पार्टीहरूका सन्दर्भमा राजनीतिक कार्यदिशाले उनीहरूको सिंगो चरित्रलाई निर्धारण गर्छ । यसो त हरेक राजनीतिक पार्टी निश्चित सिद्धान्तबाट निसृत राजनीति गरिरहेका हुन्छन् । ‘अब राजनीतिको कुरा छाडौं, समृद्धिको मात्र कुरा गरौं’ भन्ने नारा पनि अराजनीतिक मुखौटा ओढेको निश्चित प्रकारको राजनीति हो ।

पार्टीको स्थायी समितिमा उत्पन्न अभिलक्षणहरूलाई अध्ययन गर्दा नि:संकोच भन्न सकिन्छ, शिखर पंक्तिमा रहेका केही नेता निश्चित प्रकारको राजनीतिक सिद्धान्तबाट प्रभावित भएका छन् जसले विद्यमान व्यवस्थाको चुरो पक्षलाई यथावत् बचाइराख्छ । विकास, समृद्धि आदिका जलप लागेका नाराहरू दलाल, सामन्त, भ्रष्ट नोकरशाहहरूको नोक्सान नगर्ने खास प्रकारको राजनीतिक सिद्धान्तबाट निर्देशित छन् जसको समाजवादसँग कुनै साइनो छैन ।
हाम्रा नीति, कार्यक्रम, आचरणले पुँजीवादी निगमहरूको सेवा गर्छन् । हाम्रा धेरै नेता तथा कार्यकर्तासमेत यही राजनीतिक कार्यदिशालाई निर्विघ्न सञ्चालन गर्न चाहन्छन् । तिनका निम्ति विद्यमान संगठनात्मक ढाँचा, तौरतरिका, नेतृत्वको छनोट, छलफल गर्ने तरिका, आफ्नो राजनीतिक कार्यदिशा पूरा गर्न यथेष्ट छन् किनभने खास खालको राजनीतिक अन्तर्वस्तुले आफूलाई सुहाउने आवरण माग गर्छ ।

अर्थात् निश्चित राजनीतिक कार्यदिशाले सोही अनुकूलको संगठनात्मक सिद्धान्त, संगठनको विधि, प्रक्रिया स्थापित गर्न चाहन्छ । हाम्रा कतिपय साथीका निम्ति चालु संगठनात्मक तौरतरिका असाध्यै अनुकूल छन् । धेरै पहिले समाजवादी राजनीतिबाट दीक्षित बनेर दु:ख–कष्ट गरेका, विचारधारा, राजनीति आदिले लैस संगठनमा सामेल भएका र त्यसप्रति अझै निष्ठावान् रहेका कतिपय नेता कार्यकर्ताका निम्ति भने चालु नेतृत्व शैली संगठन, संगठनको विधि र प्रक्रिया बिझ्नेखालको महसुस हुन्छ । सायद हुलमुलमा स्थायी समितिमा पुगेका तिनैमध्ये केहिले अहिले कचकच गरिरहेका छन् । नेतृत्वप्रति आस्थावान् चल्तापुर्जालाई समाजवादकोधङधङी बोकेका साथीहरूको अभिव्यक्ति कठै झिँजो लाग्दो हो ।

हामीले समाजवादी विचारधाराबाट निर्देशित राजनीति र राजनीतिक कार्यदिशा निर्धारण नगरेसम्म स्वस्थ, दुरुस्त कम्युनिस्ट ढाँचाको संगठनको माग गर्नु अर्थहीन हुन्छ । इतिहास साक्षी छ, अन्तर्वस्तु पुँजीवादी बनिसकेको रूसमा लामो समयसम्म ढाँचा र रूप कम्युनिस्ट पार्टीको जस्तै थियो तर फेरिएको अन्तरवस्तुले अन्तत: रूपलाई गल्र्यामगुर्लुम ढालिदियो ।

नेपालको सन्दर्भमा पनि जबसम्म हामी समाजवादबाट निर्देशित राजनीतिक कार्यदिशा निर्माण गर्न सक्दैनौं, तबसम्म संगठन कम्युनिस्ट ढाँचामा बनोस् भन्ने चाहनु आदर्शवादी स्वैरकल्पना मात्र हो । यसलाई जति चाँडो हामी महसुस गर्न सक्छौं, त्यो त्यति नै कम्युनिस्ट आन्दोलनका निम्ति लाभकारी हुनेछ ।
कम्युनिस्ट सिद्धान्त र विचारलाई अन्य सिद्धान्त र विचारबाट अलग गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सामाजिक वर्गबीचको टक्करलाई कम्युनिस्टबाहेकका आदर्शवादी समस्या ठान्छन् । समस्या भएपछि समाधानको जुक्ति पनि निस्कने नै भयो । उनीहरू नयाँ–नयाँ पदावलीद्वारा त्यो समस्या समाधान गर्ने असम्भव चेष्टा गरिरहेका हुन्छन् ।

अहिले त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आविष्कार गरेको नयाँ पदावली छ, ‘व्यवस्थापन’ । कम्युनिस्टहरू सामाजिक वर्गबीचको टक्करलाई समस्या मान्दैनन् र त्यसको समाधानमा जुट्दैनन् । माक्र्सको सर्वाधिक महत्त्वपूर्ण शिक्षा यो हो कि सामाजिक वर्गबीचको विरोध असाध्य छ, असमाधेय छ । माक्र्सवादी मान्यताअनुसार वर्गबीचको टक्करलाई सामाजिक क्रान्तिद्वारा वर्गहरूको स्थिति फेरेर नयाँखाले टक्करको अवस्थामा पुर्‍याउन सकिन्छ ।

सतत: क्रान्तिलाई अगाडि बढाएर मानव समाजलाई यस्तो अवस्थामा फेर्न सकिन्छ, जहाँ मानव समाजको टक्कर प्रकृतिसँग केन्द्रित बन्न पुग्छ । हाम्रो आन्दोलनमा आयातित ‘व्यवस्थापन’ को सिद्धान्तले हामीमध्ये धेरैलाई लठ्याएको छ । त्यसैले, हाम्रो पार्टी भौतिक हातहतियारले मात्र होइन, विचारधारात्मक दृष्टिले समेत शास्त्र र शस्त्रविहीन बन्न पुगेको छ ।

कम्युनिस्ट पार्टी र त्यसका नेताहरूले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समाजवादका केही मानक प्रस्तुत गरेका छन् । जस्तो कि जनवादी चरणमा सर्वहाराको नेतृत्वमा सर्वहारासँग संश्रय गर्ने वर्गहरूको संयुक्त अधिनायकत्व र समाजवादी चरणमा ती संश्रयकारी वर्गहरू सर्वहारा वर्गमा फेरिइसक्ने हुनाले सर्वहाराको अधिनायकत्व कायम हुने रेखांकन माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीहरूले गरेका छन् ।

सर्वहाराको नेतृत्व र सर्वहाराको अधिनायकत्व भन्ने दुइटा राजनीतिक मूल कुरासँगै अर्थनीतिमा पनि जनवादी कालमा निजी सम्पत्ति, सहकारी र सरकारको स्वामित्व पनि रहने तर समाजवादीकालमा गइसकेपछिनिजी सम्पत्ति समाप्त हुने चिन्तन अगाडि बढाइएको थियो ।

आज हामी यी दुई कुरा सर्वहाराको अधिनायकत्व र एउटा पार्टीको शासन चाहँदैनौं भने अब नयाँ सन्दर्भमा समाजवादको मानक के हुने ? कस्तो राजनीतिक व्यवस्था, कस्तो अर्थतन्त्र, कस्तो शिक्षा, कस्तो आचरण भए नेपाली समाज समाजवादी भएको ठहरिन्छ ? यी मानकबारे गम्भीर बहस हुनैपर्छ । त्यो बहसमा पार्टी नजाउन्जेल पार्टीले कम्युनिस्ट रूप ग्रहण गर्न सक्नेछैन ।
माक्र्स–एंगेल्सका पालामा क्रान्तिका यी चरणको विहंगम विमर्श भएकै थिएन । माक्र्सका रचनाहरूमा साम्यवादको प्रारम्भिक चरण र उन्नत चरण भन्ने उल्लेख भएको पाइन्छ । खास गरेर लेनिनले क्रान्तिका यी चरणको विकास गर्नुभयो र समाजवादी चरणबाटै साम्यवादी चरणमा पुगिने धारणा आफ्ना रचनाहरूमा विश्लेषण गर्नुभएको छ । माओले त्यसलाई थप विकसित तुल्याउनुभयो ।

संसारभरि नै क्रान्तिका यी चरणका सम्बन्धमा विहंगम बहस, छलफल भएको पाइन्छ । क्रान्तिका यी चरणहरूका सन्दर्भमा धर्मभीरुले झैं छलफल, बहस गर्ने कुराबाटै पन्छिनुपर्ने कुनै कारण छैन । समाज परिवर्तनका निम्ति कस्तो प्रकारको बल प्रयोग गर्ने हो, यो पनि समय परिस्थितिले निर्धारण गर्ने कुरा हो तर छाड्नै नसकिने र त्यो छाडेपछि कम्युनिस्ट नरहने, यथार्थमा उत्पीडित खटी खाने वर्गप्रति विश्वासघात हुने कुरा चाहिं वर्गसंघर्षको प्रश्न हो । हाम्रो पार्टीले समाजवाद भनेको वर्गसंघर्ष हो भन्ने मान्यतामा रहेर वर्गसंघर्षलाई तीव्रता दिने राजनीतिक कार्यक्रम अगाडि सार्नासाथ त्यसले अनुकूलको चुस्त–दुरुस्त लडाकु संगठनको आवश्यकतालाई अगाडि ल्याउनेछ ।

समाजवादको कुरा गर्दा नेपालमा ‘कति समयभित्र समाजवादका आधार हामी तयार गर्छाैं’ भन्ने कुरा अगाडि ल्याउनैपर्छ । हाम्रो समाजवादमा राज्यको स्वरूप कस्तो हुनेछ, अर्थतन्त्र कस्तो हुनेछ, कुन शिक्षा नीति लागू गरेर हामी समाजवादका निम्ति दक्ष जनशक्ति तयार गर्नेछौं, भूमि व्यवस्थापन कसरी गर्नेछौं, हाम्रा विकास रणनीति के हुनेछन्, यी मुद्दामा स्पष्ट दृष्टिकोण नभएसम्म हामी समाजवादका निम्ति कचिंगल गर्ने अवस्थामा पुग्नेछैनौं । हाम्रा व्यक्तिगत हित स्वाभाविक रूपमा टकराउनेछन् तर हामी मूल विषयमा प्रवेश गर्नेछैनौं ।

रियल पोलिटिक्स, दैनिक राजनीति अझ भनौं सुविधाको राजनीति गर्ने ठाउँबाट समाजवादको राजनीति गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउन हामीले हाम्रा मित्र र शत्रु को हुन् भन्ने छुट्याउनैपर्छ । समाजवादका वैरीहरूको सेकतापमा बसेर समाजवादका नाराहरू भट्याउनुको तुक छैन । त्यसैले पार्टीमा आज सर्वाधिक महत्त्वको प्रश्न हो, ‘हाम्रा वैरी को हुन्, मित्र को हुन्, कुन वर्गलाई लिएर हामी समाजवाद निर्माण गर्छौं, समाजवाद निर्माणका क्रममा कुन वर्गद्वारा विघ्नबाधा तेर्साइन्छन् ।
कुन राजनीतिक कार्यक्रमअन्तर्गत हामी मित्रहरूसँग एकताबद्ध हुन्छौं र कुन राजनीतिक कार्यक्रमअन्तर्गत हामी वर्ग वैरीहरूद्वारा आउने अड्चनलाई हटाउँछौं ?’ यी प्रश्नको निक्र्योल हुनैपर्छ ।

मृग र बाघलाई एउटै खोरमा राख्ने खालको साकाहारी चिन्तनले समाजवादको राजनीति अगाडि बढ्न सक्दैन । समाजवादका पक्षधर योद्धाहरू, यो अनिकालमा पनि माक्र्सवाद र यसको गुदी जोगाएका कमरेडहरूसँग जोडदार आह्वान गरिन्छ कि समाजवादको राजनीतिक, सैद्धान्तिक विमर्श सुरु गरौं ।

राजनीतिक मुद्दाहरूमाथि हाम्रो धारणा र छलफल, बहसले नै हाम्रो पार्टीमा जीवन सञ्चार हुनेछ । हालकै अवस्थामा पनि हाम्रो पार्टी सदन, सरकार र ग्रामीण तहमा समेत हावी रहेको अनुकूलतामा केही मुद्दालाई अगाडि बढाउन सकिन्छ । यो बहसका क्रममा एउटा अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्न सान्दर्भिक हुनेछ ।

अहिले समाजवादी क्युवा सत्ता हस्तान्तरणको तहबाट गुज्रिरहेको छ । अर्थात ५० को दशकको उत्तराद्र्धमा भएको क्युवाको क्रान्तिमा संलग्न योद्धाको हातबाट शासन सत्ता नयाँ पिँढीमा हस्तान्तरण हुँदै छ । उनीहरू नयाँ संविधान जारी गर्ने संघारमा छन् । अहिले नै त्यहाँ १ लाख ५४ हजारभन्दा बढी बैठक यस विषयमा भइसकेका छन् । झन्डै ७५ लाख मान्छे छलफलमा सहभागी छन् । हजारौं स्वयंसेवक ती छलफल संगठित र व्यवस्थित गर्न तयार पारिएका छन् । सहरदेखि गाउँसम्म त्यस्ता तालिम प्राप्त स्वयंसेवकले छलफल चलाइरहेका छन् ।

हामीले पनि समाजवादको यो बाटो अख्तियार गर्नैपर्छ । हाम्रा सबै निर्वाचित प्रतिनिधिलाई विभिन्न तहमा भेला गरेर सरकारले लिने नीति तथा कार्यक्रम, सरकारले बनाउने बजेट आदिमा खुला छलफल गराउनु गहकिलो कदम हुनेछ । पार्टीका एकाइहरूमार्फत लाखौं जनतालाई नयाँ नेपाल बनाउने बहसमा सामेल गर्दा पैदा हुने ऊर्जाले आन्दोलनभित्र र बाहिरका वैरीलाई कमजोर तुल्याउनेछ । तत्कालै हामी जनतालाई आर्थिक परिचयपत्र वितरण गर्नका निम्ति एउटा अभियान सुरु गर्न सक्छौं । अति सम्पन्न, सम्पन्न, मध्यम वर्ग र पौरखी वर्ग अर्थात खटेर पनि खानलाउन नपुग्ने वर्गका रूपमा हामी देशभरि आर्थिक परिचयपत्र बाँड्न सक्छौं ।

देशका संगठित र असंगठित श्रमिकका हितका निम्ति हामी श्रम अदालत, श्रम कार्यालय, बैंक र वित्तीय संस्था, विद्यालय र तालिम केन्द्र, अस्पताल ठाउँठाउँमा खोल्न सक्छौं । अहिले श्रम मन्त्रालय भन्नासाथ हामी विदेशमा कामदार पठाउने भन्ने मात्र सोच्छौं । नेपालका सहरबजारमा विकासोन्मुख ठाउँमा हजारौं मजदुर छन् । गिटी कुट्ने, इँटा बनाउने, घर बनाउने, बाटो खन्ने, खेती गर्ने, मजदुर आदिलाई पनि परिचयपत्र वितरण गर्ने, रेकर्ड राख्ने, राज्यले सक्ने सुविधा प्रदान गर्नेजस्ता काम अहिले सुरु गर्न सक्छौं । उदाहरणका निम्ति चिया मजदुरले मासिक ८ हजार रुपैयाँ वेतनमा काम गर्नु परिरहेको छ ।

ती मजदुरलाई महिनामा १० किलो चामल, ५ किलो आँटा, २ किलो चिनी, १ किलो नुन, १ सिलिन्डर ग्यास, २ लिटर तेलमा मात्रै करमुक्त राखेर सस्तो मूल्यमा प्रदान गर्ने व्यवस्था गर्‍यौं भने राम्रो सुरुवात हुन सक्छ । हामी तुरुन्तै जमिन वर्गीकरण गर्न सक्छौं । जंगल, उद्योग, चरन, आवास, खेतीका लागि भनेर छुट्याउन सक्छौं ।

विभिन्न नाममा हजारौं बिघा जग्गा कब्जा गरिरहेकाहरूको अध्ययन गरेर उद्देश्यबमोजिम उपभोग नभएको भेटिए जमिन राज्यले अधिग्रहण गरेर सुकुम्बासीलाई वितरण गर्न सक्छौं । सात वर्षभित्रमा ‘कुनै पनि नेपाली नागरिक घरविहीन रहनेछैन’ भन्ने नाराका साथ ठोस कार्यक्रम अगाडि ल्याउन सक्नुपर्छ ।

हामी राजनीतिक पार्टीका नेता र सरकारी कर्मचारीले शिक्षा र स्वास्थ्यमा लगानी गर्न नपाउने, लगानी गरेकाहरूका हकमा कुनै अवधि प्रदान गर्ने र त्यस अवधिभित्र उनीहरूले त्यो व्यवसायबाट अलग हुने, समयसीमाभन्दा पछि व्यापार गरिरहेको पाइए सार्वजनिक पद त्याग्नुपर्ने प्रावधान अहिले नै लागू गर्न सक्छौं । शिक्षा र स्वास्थ्यमा त्यस्तो उपयुक्त कदम नचालेसम्म नेपालले प्रगति गर्न सक्नेछैन ।

समाजवादको कुरा धेरै टाढाको हो । नेपाल कृषिसँगै जडीबुटी प्रधान, पर्यटन प्रधान देश बन्न सक्छ । पुरानो उपचार पद्धतिलाई एलोपेथिक पद्धतिसँग मिलाएर नयाँ आधुनिक चिकित्सा पद्धति निर्माण गर्न सक्छौं । आफ्नै दृष्टिकोणअनुसार हाम्रो आवश्यकता र उद्देश्य परिपूर्ति हुने गरीे शिक्षा प्रणाली, शिक्षासम्बन्धी सोच, पाठ्यक्रम र शिक्षित जनशक्ति तयार गर्न सक्छौं ।

यी तमाम कुराको थालनी हामी अहिले गर्न सक्छौं । राजनीतिक दृढ इच्छाशक्ति नभएसम्म सामाजिक, आर्थिक, सांस्कृतिक कुनै पनि दिशामा हामी अगाडि बढ्न सक्दैनौं । पार्टीमा अहिले छलफलको मुख्य मुद्दा राजनीतिक कार्यक्रम हुनुपर्छ, मूल कार्यदिशा हुनुपर्छ । त्योकार्यदिशा समाजवादी आदर्श र विचारबाट निर्देशित हुनुपर्छ ।
प्रकाशित : पुस ८, २०७५ ०८:१६
(साभार- कान्तिपर दैनिक)