२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान



अ+ अ-

दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ ।

द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो ।

उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो ।
सो लगत्तै विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुको दिनमा त्यस क्षेत्रमा धेरै झाडी तथा बुट्यानहरू सफा गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी, बुद्धिजीवि, व्यापारी, नागरिक अगुवाले योगदान गरेका थिए ।
सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका सदस्य बालाराम रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसपछि पनि पटकपटक गरी साविकको जिविस दाङ, तुलसीपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, व्यापारी, नेपाल सरकारको रु २ करोड ५० लाख मा समितको कार्यालय भवन, पर्खाल, शौचालय, प्रवेशद्वार, वनभोज स्थल लगायतका पूर्वाधार निमार्ण गरिएको हो । उहाँले त्यहाँ जनावर पशुपक्षी राख्न लागि सानो चिडियाखाना निर्माण गरिसकेको जानकारी दिनुभयो । उहाँले पशुपक्षी राख्न नेपाल सरकारबाट अनुमति लिनुपर्ने भएकाले त्यसका पहल भैरहेको बताउनुभयो।

अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ३०० देखि ४०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको समितिका कर्मचारी डम्बर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरूलाई प्रतिव्यक्ति रु १० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रु ३०० देखि ५०० सम्म शुल्क निर्धारण गरिएको छ । अहिले उद्यानमा चार जनाले रोजगारी पाएका छन् ।

पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । राप्ती राजमार्गअन्र्तगत तुलसीपुर–सल्यान सडक खण्डको ३ किलोमिटर उत्तरमा श्रीगै गाउँबाट झन्डै डेढ किलोमिटर कच्चीबाटो हिँडेपछि पूर्वमा पर्ने सो उद्यान पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तर तर्फ गणेशपुर गाउँ पर्दछ ।

उद्यान भित्र उत्तरतर्फ बालबालिकाहरूका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निमार्ण गरिएको छ । त्यसैगरी उद्यान चराचुरुङ्गीको मधुर स्वर र प्राकृतिक तथा जैविक विविधताले पनि भरिपुर्ण रहेको पाइन्छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलहरूको बगैचा पनि रहेको छ ।

दक्षिणतर्फ वनभोज खान बनाइएका १० ठाउँमा खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरूलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्याँसको सुविधा पनि सो पार्कमा रहेको छ ।

उद्यान घुम्न बर्दियाको नारायणपुरबाट आउनु भएकी ४५ वर्षिया कमला चापागार्इंले पहिलोपटक यहाँ आउँदा निकै आनन्द भएको बताउनुभयो । शिक्षण पेशामा संलग्न चापागाईंले उद्यानको बारेमा धेरैको मुखबाट सुनेको तर आज प्रत्यक्ष घुम्न पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यस्तै उद्यानमा वनभोज खान लमहीबाट आउनु भएकी ३५ वर्षिया सीता चौधरीले गाउँका सबै दिदीबहिनीको यहाँ वनभोज खान जानुपर्छ भन्ने रोजाइ भएकाले यहाँ आएको बताउनुभयो ।

विगतका वर्षमा नागरिक तथा वन समुहका उपभोक्ताहरूको अथक श्रमदान र राज्यले गरेको सहयोगले नै अहिले उद्यान जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित भएको उद्यान व्यवस्थापन समितिका पुर्व सचिव कुलप्रसाद कालाथोकीले बताउनुभयो ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले उद्यान क्षेत्रमा पर्याप्त मात्रामा पानीको व्यवस्था नहुँदा, विद्युत र पार्कसम्म पुग्ने बाटो पक्की नहुँदा समस्याहुने गरेको बताउनुभयो ।

उहाँले उद्यानको विकासका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको जानकारी दिनुभयो । रासस