२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुर्जामा पर्यटकको चहलपहल



अ+ अ-

म्याग्दी । चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पर्यटकको चहलपहल बढेको छ ।

प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने क्रम बढेको हो । धेरै किसिमको विशेषता बोकेको गुर्जा गाउँमा हिजोआज दिनहुँजसो पर्यटक आउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पछिल्लो तीन महीनामा करीब एक सय जना विदेशी पर्यटक गुर्जा भ्रमणमा आएका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार दैनिक चार/पाँच जनाको अनुपातमा स्वदेशी पर्यटक पनि गुर्जा पुग्ने गरेका छन् ।

गुजुमुज्ज परेका परम्परागत शैलीका घर भएको बाक्लो बस्ती, छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु, पृष्ठभूमिमा देखिने हिमालको सौन्दर्य गुर्जाको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउँछ । पैदलयात्राका क्रममा वनजङ्गल, हिमशृङ्खला, वनस्पति, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

पर्यटक आगमन बढ्न थालेपछि गुर्जाका बासिन्दाले पाहुनाको सुविधाका लागि घरवास सेवा (होमस्टे) सञ्चालन गरेका छन् । छ वटा घरमा पचासजना क्षमताको होमस्टे सञ्चालन गरिएको हिमाली आमा समूहकी अध्यक्ष सीता छन्त्यालले बताउनुभयो । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्ने, छन्त्याल संस्कृति देखाउने गर्छन् ।

होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले होमस्टे सम्बन्धी तालीमका लागि हिमाली कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको छ ।

पर्यटन विकासका लागि होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताउनुभयो । गुर्जाको होमस्टे प्रभावकारी भएको उहाँले बताउनुभयो । होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्ने गरेका थिए ।

लुलाङदेखि जङ्गल र भिरको बाटोमा आठ घण्टाको पैदल हिँडेपछि पुगिने गुर्जादेखि गतवर्ष ढोरपाटन शिकार आरक्षको रुघाचौर जोड्न पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको रु दश लाख अनुदानमा निर्माण भएको पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।

देउरालीदेखि गुर्जातर्फ जाने पदमार्ग पनि निर्माण भएको थियो । यस वर्ष पनि पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने वडाध्यक्ष छन्त्यालले बताउनुभयो । पैदलयात्रासँगै घोडचढी सुविधा पनि छ । ढोरपाटन शिकार आरक्षको घुस्तुङ र वार्षे ब्लक यही गुर्जामा पर्दछ । गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचऔँलेलगायत दुर्लभ ५० भन्दा बढी वनपैदावार र जडीबुटी पाइन्छन् । रासस