३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

बमजन काण्डः ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

बमजन काण्डः ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’
अ+ अ-

काठमाडौं – आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।

बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले रिपोर्टर्स क्लबमा शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारलाई आग्रह गरेका हुन् । मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरेका हुन् ।

बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी गर्न माग गरे । यो संगठनमा मकवानपुरकी डोल्मो र नुवाकोटकी चुन्मोका परिवार पनि आवद्ध छन् ।

लामाले भने,‘सुरूमा दुबै हाम्रो गुम्बाका आनी थिए। पछि बमजनतिर लागेर उतै आश्रममा बस्न थाले, अहिले उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्य हामीलाई सोध्न आइरहनुभएको छ। हामीले पनि खोज्यौं, भेटेनौँ । अब राज्यले खोज्दिनुर्पयो।’

सुरूमा आफ्नो संगठनले बमजनलाई तपस्वी नै मानेर सहयोग गरेको उल्लेख गर्दै लामाले भने,‘उहाँ तपस्या बसेको बेला सहयोगको अपेक्षा गरेपछि संघको तर्फबाट सहयोग र्गयौं, जब गढीमाई रोक्छु भनेर उहाँले हामीलाई विभिन्न कार्यक्रम गर्न लगाउनुभो। जसो जसो भन्नु भो त्यसै गरेका थियौं। अनि आफैं भाग्नुभयो त्यसपछि भने हामी अलग्गियौं।’

गढीमाई रोक्छु भनेका बमजन आफैं २ महिना बेपत्ता भएको उनले बताए। महिनापछि उनी फर्केर बाराको हलखोरिया आएपछि फेरि आफूहरू उनको दर्शन गर्न गएको उनले दाबी गरे।

हराएर फर्किँदा बमजनका साथमा एकजना महिला पनि आएकी थिइन्। ‘त्यो बेला पनि तीन चोटी ढोगेर दर्शन गरेका थियौं। यत्रो दिन तपाईं कहाँ जानु भयो भनेर सोध्यौं। सँगै बसेको महिलाका बारेमा पनि सोध्यौं’–उनले सुनाए।

बमजनले भने आफू कहाँ हराएको भन्नेबारे फरक–फरक कुरा गरेको दोर्जेले बताए। उनले भने,‘त्यसपछि भने हामीहरू पूर्ण रूपमै बमजनसँग अलग्गिएका हौं । हाम्रा आनी पनि त्यो समूहमा गएका थिए। बेपत्ता छन्। कि मरेको छ भन्नुर्पयो कि त कहाँ छन् पत्तो लाग्नुर्पयो ।’

उनले बमजनका आश्रमहरूमा राज्यले अनुसन्धान गर्नुपर्ने माग गरे । उनले थपे,‘सत्यतथ्य के हो पत्ता लगाउनुर्पयो।’

बमजनको आश्रमबाट २०७१ माघदेखि बेपत्ता भएकी डोल्मोका दाजु र बुवाले पनि पत्रकार सम्मेलनमा राज्यलाई यस्तै आग्रह गरे। ‘मेरी छोरीले बमजनको आश्रमबाट फोन गरेकी थिई। पछि हामी भेट्न जाँदा छैन भन्छन्,’ उनले भने, ‘हामीले धेरै ठाउँ खोज्यौं, भेटेनौं। अब राज्यले खोजी दिनुर्पयो र खबर गर्नुर्पयो।’

डोल्मोसँगै बेपत्ता भएकी उनकी साथी नुवाकोटकी चुन्मोकी दिदी गंगामाया पनि पत्रकार सम्मेलन गर्न काठमाडौं आएकी थिइन्।

उनले आफ्नी बहिनी बमजनको आश्रममा गएपछि नफर्किएको बताइन्। २०६८ सालमा बमजनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन्। त्यो बेला एकरात बसेर बमजनकै आश्रममा फर्केकी उनी अहिलेसम्म सम्पर्कमा नआएको गंगामायाले बताइन्।

‘मेरो बहिनी आएको बेला मैले भेट्न पाइनँ। त्यसपछि टाढा–टाढा भयो। घर आउन पनि छोड्यो,’ उनले भनिन्, ‘गुरूलाई धेरै मान्थ्यो। तर आश्रममा छैन भन्छन्।’

बमजनले बुङमती लगाएको पूजामा भेटिन्छ कि भनेर खोज्न गएको उनले बताइन्। उनले भनिन्,‘आफैं आएन। हामी खोज्न कहाँ जाने? त्यही पनि बुङमतीको पूजामा खोज्न आएको बमजनका मान्छेले बहिनीको फोटो देखाउँदा यो त अहिंसावादीको सिआइडी हो, निस्केर गयो भन्छ अरू कुरा भन्दैन, गुरू (बमजन)ले टेकेको माटो पनि शक्ति हुन्छ भन्थ्यो। मरेको भए लास पाउँ जिउँदो भए भेट्न पाउँ।’

त्यस्तै, पत्रकार सम्मेलनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वनस्पति चोकका महिन्द्र वाइवाले पनि आफ्ना बुवा खोजी दिन आग्रह गरेका छन् । उनले आफ्नो बुवा २०७१ चैतदेखि बमजनको आश्रमबाटै बेपत्ता भएको जनाए ।

‘चैतको १४ गते बमजनको आश्रमबाट १७ गते आउँछु भनेर फोन गर्नुभएको थियो १० दिन पुग्दा पनि आउनुभएन। म सिन्धुपाल्चोक गएँ, त्यहाँ एउटा बाजेले निस्केर गइसक्यो भन्नुभयो,’ उनले भने ,‘तर बुवा घरमा आउनुभएको छैन। राज्यले खोजिदिनुर्पयो।’

यी तीनै परिवारले आफ्ना बुवा, बहिनी र छोरी खोजी दिन भन्दै प्रहरीमा जाहेरी दिएको पनि जानकारी गराएका छन् ।