• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् – बोल्टन



जेरुसलेम । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताउनुभएको छ । उहाँले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गर्नुभयो ।

इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ मा सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक तत्कालै फिर्ता हुने घोषणा गर्नुभएको थियो । अमेरिकी घोषणापछि सिरिया द्वन्द्वमा रहेका अमेरिकी गठबन्धनका मुलुकहरुले चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पको उक्त घोषणासँगै त्यसप्रति असहमति जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिइसक्नुभएको छ ।

चौतर्फी विरोधपछि ट्रम्प आफैँले निश्चित समयावधिमा आफ्ना सैनिकहरु विस्तारै अमेरिका फिर्ता हुने बताउनुभएको छ । राष्ट्रपतिका सुरक्षा सल्लाहकार बोल्टनले सैनिक फिर्ता हुनुअघि कतिपय शर्तमाथि विचार गरिने बताउनुभयो ।

“हामीले राष्ट्रपतिको निर्णयमाथि छलफल गरिरहेका छौं । उत्तरपूर्वी सिरियामा आइसीस पराजित भइसकेकाले त्यहाँबाट सैनिक फिर्ता हुन सक्छन् । यहाँ अब आइसीसबाट कुनै खतरा छैन,” इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँगको भेटमा बोल्टनले भन्नुभयो ।

“इजरायल र हाम्रा अरु मित्रराष्ट्रहरुको सुरक्षाको भरपर्दो स्थिति बन्नु पर्दछ । साथै आइसीस र अरु आतङ्कवादी समूहसँग हामीसँगै लडेकाहरुलाई हामीले विशेष ध्यान दिनु आवश्यक छ ।”

इजरायलले मुख्य रुपमा अमेरिकी सैनिक फिर्ती बारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । इरान समर्थित लडाकूहरुले सिरियाको बाटो हुँदै इजरायलमाथि आक्रमण गर्ने खतरा रहेको इजरायलको भनाइ छ ।

प्रधानमन्त्री नेतान्याहूले सिरियामा रहेका इरानी लडाकूहरु विरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताउनुभएको छ ।

इजरायलले सिरियामा रहेका इरानी सैनिक पोस्टलाई लक्षित गरी सैयौं हवाई हमला गरेको छ । सिरियामा रहेका हेजबोल्लाह समूहलाई तेहरानले आधुनिक हातहतियार सहित आर्थिक, प्राविधिक र राजनैतिक मद्दत गरिरहेको बताइन्छ ।

एनबिसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले कुर्दिस गठबन्धनको सुरक्षालाई प्रत्याभूति नगरी अमेरिकी सैनिक फिर्ता नहुने बताउनुभएको छ । उहाँले सबै दुई हजार अमेरिकी सैनिक तत्काल फिर्ता नहुने पनि स्पष्ट गर्नुभयो ।

उहाँले उत्तरपूर्वी सिरियामा तैनाथ अमेरिकी सेना पहिलो चरणमा फिर्ता हुने बताउनुभयो । सिरियाको दक्षिणस्थित अल–तान्फ सैन्य अखडामा रहेका केही सैनिक तत्काल फिर्ता नहुने उहाँले स्पष्ट गर्नुभयो ।