• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

विपद् व्यवस्थापनमा पूर्व तयारी अावश्यक



विराटनगरः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारले उच्च प्राथमिकताका साथ पूर्वतयारी अवस्थामा बस्नुपर्ने सहभागीले जोड दिएका छन् ।

प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् उत्थानशील प्रदेश नीति, विपद् जोखिम व्यवस्थापनमा प्रादेशिक रणनीतिक कार्ययोजना, प्रादेशिक आपत्कालीन प्रतिकार्य ढाँचा र विकास प्रक्रियामा सम्भावित विपद् जोखिम प्रभाव मूल्याङ्कन आवश्यकता र औचित्यसम्बन्धी आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा साेमबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीले सो कुरामा जोड दिएका हुन् ।

‘जतिखेर पर्ला, त्यति खेर टर्ला’ भन्ने मानसिकताबाट टाढा रहेर प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम गर्न सकिने र मुलुकको आर्थिक भार पनि कम हुने विश्वास वक्ताहरुले व्यक्त गरेका छन् ।

आगलागी, बाढी, पहिरो, हुरी, बतास, शीतलहर, भूकम्प, सडक दुर्घटना, चट्याङजस्ता विपद्बाट जोगिन आम नागरिकले पनि विशेष चासो राख्नुपर्नेमा वक्ताले प्रष्ट पारेका छन् ।

कार्यक्रममा प्रदेश नं १ का मुख्य सचिव केदार न्यौपानेले विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था र अभ्यास, एक्सन एडका दिनेश गुरुङले नेपालमा विकास साझेदारबाट विपद् व्यवस्थापनको क्षेत्रमा भएका प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले विपद् व्यवस्थापनमा अब बन्ने कार्ययोजनाका लागि सुझाव सङ्कलन गर्न साेमबारको बैठकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मुख्यमन्त्री राईले विगतका अनुभव र प्रयासलाई सक्दो प्रयोग एवं उपभोग गरी विपद् व्यवस्थापनमा प्रयोग गर्ने बताउँदै प्रदेश सरकारले यसका लागि साधन, स्रोतको व्यवस्थापन गरी आवश्यक पूर्वाधार एवं संरचना तयार पार्ने कुरामा जोड दिनुभयो ।
विपद् व्यवस्थापनका लागि अभियानको रुपमा अघि बढ्ने भन्दै मुख्यमन्त्री राईले यस प्रदेशलाई विपद्को भयमुक्त बनाउने घोषणा गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विपद्का लागि प्रदेश सरकार सचेत र गम्भीर भएकै कारण विपद् व्यवस्थापन विधेयक पास गरेको जानकारी दिँदै विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न आवश्यक कार्य योजना बनाउन लागेको बताउनुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापन एवं न्यूनीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन सोच र योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य राजीव कोइराला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपाल पराजुली, प्रदेशसभा सदस्य नमोदिता चौधरी, विमल कार्की र टङ्क आङवोआङ तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले विपद् आउनुभन्दा पहिलेको तयारीले ठूलो क्षतिबाट जोगाउन सकिने बताउनुभयो ।