३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन



अ+ अ-


काठमाडौँः मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ ।

यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो । मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । मनाङले लिगको अन्तिम खेलमा भने आज फ्रेन्ड्ससँग पराजित भयो ।

दुई खेल अगावै च्याम्पियन बनेको मनाङले आज लिग समाप्तिसँगै उपाधि उचालेको हो । मनाङले उपाधिसँगै रु ५० लाख पनि प्राप्त गरेको छ । लिगको उपविजेता सङ्कटा क्लबले रु ३५ लाख तथा तेस्रो स्थानको थ्री स्टारले रु २५ लाख प्राप्त गरेको छ ।

लिगको चौथो बनेको त्रिभुवन आर्मी क्लबले रु १५ लाख, पाँचौ स्थानका एपिएफले रु सात लाख र छैटौं स्थानका नेपाल पुलिसले रु पाँच लाख प्राप्त गरेका छन् । त्यसैगरी फेयर प्ले टोली घोषित हुँदै ब्रिगेड ब्वाइजले रु एक लाख प्राप्त गरेको छ ।

लिगको उत्कृष्ट पाँच विधाको तीन विधामा मनाङले बाजी मारेको हो । अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिएका छन् ।

प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास, गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए ।

उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक÷एक थान पल्सर मोटरसाइकल र जनही रु ५० हजार प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले रु एक लाखसहित ‘मणि बिक्रम शाह युवा खेलाडी’ अवार्ड प्राप्त गर्नुभयो ।

विजेता टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री विश्वकर्माले लिग नियमित गर्न एन्फालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नियमित रुपमा लिग नहुँदा नयाँ नयाँ प्रतिभावान खेलाडी उत्पादन हुँदैनन्, त्यसैले लिग नियमित हुनुपर्छ ।”

मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकास तथा विस्तारका लागि पूर्वाधार निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै ७५३ वटै स्थानीय तहमा खेलकूदका पूर्वाधार विकास गर्न सरकारले दीर्घकालीन कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

लिग गत भदौ १३ गतेदेखि शुरु भएको थियो । राउण्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा कुल ९१ खेल भएका थिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

लिगमा मछिन्द्र क्लब र न्युरोड टीम एनआरटीले ऋण अङ्क बोेकेका छन् । आज सम्पन्न लिगमा तालिकाको पुछारमा रहँदै दुवै टोलीले ऋण अङ्क बोकेका हुन् । एन्फाले यस पटक लिगमा रेलिगेशनको व्यवस्था गरेको थिएन । तर लिगको अन्तिम दुईमा रहने टोलीलाई ऋण अङ्कको व्यवस्था गरेको थियो ।

एन्फाका अनुसार तालिकाको पुछारको टोलीले दुई अङ्क र पुछारबाट दोस्रो हुने टोलीले एक अङ्क ऋण बोक्ने छ । एन्फाले पुछारका तीन टिमलाई ऋण अङ्क बोकाउने निर्णय गरेपनि अन्तिम समयमा आएर दुई टोलीको मात्र अङ्क घटाउने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री पद्म शम्शेरले काठमाडौँ उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराउनुभएको थियो ।

२००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । भएको एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ ।