२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै लिन छाडेनन् घरभाडा यी सांसदले, मासिक २५ हजार ६ सय बुझे



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा विधायन समिति सभापति परशुराम मेघी गुरुङको भक्तपुर सूर्यविनायक नगरपालिकाको सुवर्णेश्वर आधारभूत विद्यालय सँगै घर छ । तर उनी संसद् सचिवालयबाट नियमित घरभाडा बुझ्ने सांसदको सूचीमा पर्छन् ।

सचिवालयबाट उनले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ बुझछन् । उनले पुसको घरभाडासमेत बुझिसके ।

‘सुवर्णेश्वर मन्दिर सँगै उहाँको घर छ, म पनि पुगेको छु,’ सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘घर हुँदाहुँदै भाडा लिनु त ठीक भएन ।’ गुरुङले कान्तिपुरसँग मंसिर २३ मा भक्तपुरमा आफ्नो घर भएको बताएका थिए । संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ मा सुरु भएपछि सचिवालयले सांसदलाई काठमाडौंमा घर भएरनभएको यकिन गर्न फाराम भराएको थियो । तर गुरुङले घर नभएको भन्दै फाराममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा काठमाडौं उपत्यकामा घर नहुने सांसदले मात्रै घरभाडा पाउँछन् । घरभाडा लिनेमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि छन् । पुस ११ पछि सचिवालयले भराएको फाराममा उनले पनि आफ्नो काठमाडौंमा घर नभएको उल्लेख गरे । कान्तिपुरसँग कात्तिक ३० मा भने बाँसबारीमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट पनि घरभाडा बुझ्ने सूचीमा छिन् । उनले पनि कान्तिपुरसँग कात्तिक २९ मा भैंसेपाटीमा कान्छा छोराको नाममा रहेको घरमा बस्ने गरेको बताएकी थिइन् ।

नियमअनुसार घर नहुने सांसदले मासिक १८ हजार रुपैयाँ पाउँछन् । समिति सभापतिले भने २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा लिन्छन् । काठमाडौं उपत्यकामा घर हुने सांसदले पनि अझै घरभाडा लिइरहेका छन् । काठमाडौंमा घर हुने सांसदले समेत पुसमा अध्यावधिक गरेको विवरणमा घर नभएको भन्दै भाडा असुली गरेका हुन् ।

नेकपाकी सांसद नविना लामाको पेप्सीकोलामा घर छ । सचिवालय विवरणमा घर नभएको भन्दै हस्ताक्षर गरेकी छन् । कान्तिपुरसँग मंसिर ११ मा उनले भनेकी थिइन्, ‘पेप्सीकोलामा श्रीमानको नाममा घर छ ।’ तर उनले पुसको तलबसँगै घरभाडा पनि लिएकी छन् । संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘श्रीमान् र माइतीको घरमा बसेर मेरो घर छैन भन्नुचाहिँ उपयुक्त होइन ।’

कान्तिपुरले गत कात्तिकमा गरेको अध्ययनअनुसार केही सांसद आफ्नो घर नभए पनि माइती वा ससुराली घरमा बस्छन् । भाडा तिर्दैनन् तर संसद् सचिवालयबाट भाडा लिन्छन् । कान्तिपुर दैनिकमा खबर छ ।