६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास



अ+ अ-

चितवन । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ ।

जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताउनुभयो ।

घटनाको साँझ ७ बजे जानकारी भएपछि राति दुवै जनालाई उद्धार गरी आज बिहान भरतपुर अस्पताल ल्याइएको आचार्यले बताउनुभयो । पीडितका अनुसार कुटपिट गर्ने अन्दाजी १८र२० वर्षका युवक उनीहरुले हालसम्म नदेखेको जनाएका छन् ।

प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो । आचार्यका अनुसार घरबाट किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जङ्गल र भीरको बाटोबाट हिँडिरहेको मौका छोपी दुईमध्ये किशोरीलाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए ।

आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा गम्भीर चोट लागेको छ । लाठीले हानेर लखेटी अर्की किशोरीलाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती किशोरीलाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाइ बलात्कार प्रयास भएको पीडितले जनाएका छन् ।

भरतपुर अस्पतालमा उपचाररत् किशोरीको परीक्षण भइरहेकाले जबर्जस्ती करणीको प्रयास मात्रै हो वा करणी नै हो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइते बालिकाको टाउकोमा रगत जमेको छ भने किशोरीको टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।

यसैबीच मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले एक विज्ञप्ति जारी गरी पीडित बालिकाको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनस्र्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानूनी सजाय गर्न सरकारसँग माग गर्नुभएको छ ।

दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि सो संस्थाको पहलमा काठमाडौँको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरू सबै जना यतिबेला विद्यालयले दिएको जाडो बिदामा घर आएका छन् । तिनैमध्येका दुई बालिकामाथि घटना भएको फाउण्डेशनले जनाएको छ ।