२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादन बढाउन कफी सम्मेलन



अ+ अ-

काठमाडौँ । कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० मेट्रिकटन भएपनि उत्पादन ५१३ मेट्रिकटनमा सीमित छ । बोर्डको आयोजना र युरोपेली सङ्घअन्तर्गत ‘टिपिएचडी’ को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुनेभएको हो ।
नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४।०७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार बराबरको आयात भएको थियो ।

गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१।०७२ मा रु दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो ।

आव ०७२।०७३ मा निर्यात रु पाँच करोड ५४ लाख ४१ हजार र आयात रु १० करोड ७९ लाख थियो भने आव ०७३।०७४ मा निर्यात रु रु पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो ।

बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ । करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भएपनि आव ०७१।०७२ मा दुई हजार ३८१ हेक्टर, ०७२।०७३ मा दुई हजार ६१८ हेक्टर, ०७३।०७४ मा दुई हजार ६४६ हेक्टर र ०७४।०७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो ।

नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१।०७२ मा ४६३, ०७२।०७३ मा ४३४, ०७३।०७४ मा ४६६ र ०७४।०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो ।