२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली राजनीति’ : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता लोकेश ढकालद्वारा लिखित‘नेपाली राजनीति' : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ ।  नेपाली काँग्रेसको आसन्न  १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको सहभागिता बढेका बेला राजनीतिमा आउन चाहने युवाका लागि सो पुस्तक उपयोगी  रहेको छ ।  

आज यहाँ आयोजित कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले पुस्तक विमोचन गर्दै  राजनीतिमा प्रवेश गर्ने व्यक्तिलाई सतर्क बन्ने विषय पनि पुस्तकको अर्को संस्करणमा राख्न सुझाव दिनुभयो । “विसं २०१७ देखि २०४६ सम्म मूल्य, मान्यतामा आधारित राजनीति थियो, २०४६ सालपछि सत्ता केन्द्रित राजनीति शुरु भएकाले समस्या आएको छ, राजनीतिमा देखिएका यस्ता विकृति हटाउन राजनीतिक दल संस्थागत रुपमा विधिसम्मत तरिकाले चल्नुपर्छ”–उहाँले भन्नुभयो । 

शक्तिमा गएपछि राज्यका स्रोत दोहन गरेर आफू शक्तिशाली बन्ने प्रतिष्पर्धाले राजनीतिमा विकृति मौलाएको सुनाउनुहुँदै नेता सिंहले यस्ता कुरा सुधारका लागि लेखनमार्फत् जागरण फैल्याउन लेखक ढकाललाई सुझाव दिनुभयो । 

पूर्व मन्त्री एवं काँग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले काँग्रेस कम्युनिष्टभन्दा यी विषयमा फरक छ भनेर जनतामा जाने अवस्था नहुँदा सबै दल उस्तै हुन् कि भन्ने देखिएको बताउनुभयो । “राजनीतिक अस्थिरताको मूल कारण वर्तमान संविधान हो, संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद भन्ने शब्दलगायत २०० भन्दा बढी विरोधाभाष छन्, संविधान बनाउनुअघि जनतामा गएर सुझाव लिइयो तर ती सुझावलाई फुकाइएन, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका विषयमा जेजस्ता सुझाव जति आएपनि कायम गरेर जाने सहमति नेताहरुले गर्दा अहिलेको समस्या भएको छ, यो १२ बुँदेपछिको दुर्गति हो”–उहाँले भन्नुभयो ।

संविधानसभामा ६०१ जना सभासद् भएपनि प्रमुख दलका तीनजना नेताले बसेर संविधान लेखेको सुनाउनुहुँदै सभामा काँग्रेसको प्रमुख सचेतकसमेत रहीसक्नुभएका नेता घिमिरेले यसको समीक्षा गर्ने बेला भएको बताउनुभयो । 

वरिष्ठ पत्रकार युवराज घिमिरेले विगतमा काँग्रेसले लिएका नीतिका बारेमा आउँदो महाधिवेशनमा समीक्षा गर्ने बेला आएको बताउनुभयो । केही वर्षपछि देशका लागि राजनीति गर्छु भन्ने तर पैसा नहुनेहरु नेपाली काँग्रेसको राजनीतिबाट विस्थापित हुने समय आएकाले छिटो समीक्षा गरेर सुध्रिन उहाँले सुझाव दिनुभयो । 
     
वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले सङ्घीयता, धर्म निरपेक्षताजस्ता विषयमा परिमार्जनपछि मात्र काँग्रेसलाई पुरानै धर्तीमा फर्काउन सकिने विषय लेखक ढकालले पुस्तकमा उल्लेख गर्नुभएको सुनाउनुभयो । बाह्य धर्मलाई नेपालमा स्थापित गराउनकै लागि संवैधानिक रुपमै नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएको जस्ता विषय पनि पुस्तकमा पृष्ठभूमिसहित समावेश गरिएको उहाँको भनाई थियो । 

पुस्तकका लेखक ढकालले काँग्रेस बिपी कोइराला, गणेशमान सिंह, सुवर्णसम्शेर जबरा, कृष्णप्रसाद भट्टराईजस्ता संस्थापक नेताको विचारबाट विमुख हुँदै गएकाले १४ औँ महाधिवेशनको पूर्व सन्ध्यामा बहस होस् भन्ने उद्देश्यले पुस्तक लेखिएको जानकारी दिनुभयो । १३९ पृष्ठको पुस्तकमा राजनीतिक विषयलाई सरल भाषामा उल्लेख गरिएको छ । राजनीतिक विचारक सिके प्रसाईलाई समर्पण गरिएको पुस्तक उहाँको ‘आजको सरल राजनीति’ को अर्को रुप जस्तो लाग्ने जनाइएको छ । रासस