२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक भारतीय व्यापारीले ताजमहलजस्तो देखिने भव्य घर बनाएर दिए पत्नीलाई उपहार



अ+ अ-

बीबीसी । भारतमा एक व्यापारीले एक विश्वप्रसिद्ध स्मारक ताजमहलजस्तै देखिने एउटा भव्य घर बनाएर आफ्नी पत्नीलाई उपहार दिएका छन्। मध्यप्रदेशका ५२ वर्षीय आनन्द प्रकाश चौकसेले बुरहानपुरमा तीन वर्ष लगाएर उक्त घर बनाउन लगाएका हुन्।

'यो मेरी पत्नीका लागि उपहार हो अनि सहर र सहरवासीका लागि पनि,' उनले बीबीसीसँग भने। आगरामा सत्रौँ शताब्दीमा निर्मित ताजमहललाई 'प्रेमको स्मारक' मानिन्छ। मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताजको सम्झनामा ताजमहल बनाएका थिए भन्ने गरिन्छ।

चौधौँ सन्तानलाई जन्म दिन लाग्दा मुमताजको मृत्यु भएको थियो। सिङ्गमरमरले बनेको ताजमहलको वास्तुकलाको विश्वभरि चर्चा हुने गर्छ। ताजमहल भारतको एउटा ठूलो पर्यटकीय गन्तव्य पनि हो।

कोभिड महामारी सुरु हुनुभन्दा अगाडि प्रत्येक दिन ७० हजार पर्यटकहरू ताजमहल हेर्न जान्थे। चौकसेले बनाएको ताजमहलको प्रतिकृति हेर्न पनि मानिसहरू जान थालेका छन्।

'धेरै मानिसले यहाँ बिहेअघि तस्बिर खिच्छन्,' उनले भने।

'म उनीहरूलाई रोक्दिनँ किनभने हाम्रो सहरमा हामी मिलेर बसेका छौँ अनि सबै जनाले एकअर्कालाई चिन्छन्। त्यसैले मेरो घर सबैका लागि खुल्ला छ।' तर घर हेर्न आएका आगन्तुकहरूले भित्र प्रवेश गर्न चाहिँ पाउँदैनन्।

उक्त घरका दुई तलामा एक-एकवटा मुख्य शयनकक्ष छन्। घरमा एउटा पुस्तकालय र ध्यान गर्ने कक्ष पनि छन्। घरको बैठक कोठामा सिङ्गमरमरका स्तम्भहरू, घुमेको भर्‍याङ र सुनको जलप लगाइएको सीलिङ छन्।

ताजमहलबाट उत्प्रेरित भएर उक्त भवन बनाइएको भने पनि इस्लामिक परम्पराको कुनै पनि प्रभाव नदेखिनेगरी आन्तरिक सज्जा गरिएको चौकसे बताउँछन्। बरु त्यसमा समकालीन प्रभाव परेको देखिन्छ।

उनलाई विश्वप्रसिद्ध स्मारकजस्तो घर बनाउन तीन वर्ष लागेको थियो। त्यस क्रममा ताजमहलका विविध पक्ष हेर्न चौकसे दम्पती धेरै पटक आगरा गएका थिए।

'हामीले आफ्नै 'ताजमहलले बनाउन इन्टरनेटमा उपलब्ध धेरै थ्रीडी तस्बिरहरू प्रयोग गर्‍यौँ,' चौकसेले भने।

इन्जिनियरहरूले ताजमहलजस्तै भवन बनाउने उद्देश्य भएकाले नयाँ संरचनाको आकार ताजमहलभन्दा एकतिहाइले घटाएका थिए।

यसरी ताजमहलबाट प्रेरित भएर आफ्ना लागि घर बनाउने चौकसे एक्ला व्यक्ति भने हैनन्।

भारतकै उत्तरप्रदेशमा सरकारी सेवाबाट निवृत्त एक व्यक्तिले सन् २०१३ मा आफ्नी पत्नीको सम्झनामा ताजमहलको प्रतिकृति घर बनाएका थिए।

तर चौकसेले आफ्नो घर केवल पत्नीलाई मात्र समर्पण नगरिएको बताएका छन्। 'आज हाम्रो देशमा धेरै घृणा छ। मानिसहरू धर्म र जातका कारण विभाजित छन्,' उनले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारलाई देशमा धार्मिक ध्रुवीकरण र असहिष्णुता बढाएको आरोप लाग्ने गरेको छ। धर्मसम्बन्धी विवादमा बेलाबेलामा ताजमहल पनि पर्ने गरेको छ।

सन् २०१७ मा भाजपाका एक सांसदले ताजमहल 'राज्यद्रोहीहरू' ले निर्माण गरेको भन्दै त्यसलाई 'भारतीय संस्कृतिमा एउटा कलङ्क' को सङ्ज्ञा दिएका थिए।

चौकसेले भने आफूले प्रेम फैलाउन खोजेको बताएका छन्। 'अनि मेरा लागि यो घर सामाजिक झैझगडा र राजनीतिक कोलाहलभन्दा पर रहेको प्रेमको एउटा प्रतिक हो,' उनले भनेका छन्।