२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे



अ+ अ-

मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । 

हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् ।  

सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेँसी झर्ने क्रममा गत मङ्गलबार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । 

प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खस्दा भेडा बाख्रा मरेका उहाँले बताउनुभयो । खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमन समेत गरेका थिए । स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचार समेत गरिएको कार्यालय प्रमुख कुसुमले बताउनुभयो । 

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । आकस्मिक रुपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनःस्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । 

व्यावसायिक भेडाबाख्रापालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा हाल ५०० भेडाबाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्ने गरिन्छ । किसानले भेडीगोठबाट भेडाबाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् ।