१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः नेविसङ्घ पूर्वअध्यक्ष महरद्वारा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना १४ एजेण्डासहित कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । कांग्रेसका युवा नेता महरले आफू कुनै पनि पदमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको क्रियाशील सदस्यतालाई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । डडेल्धुराबाट महाधिवेशनमा निर्वाचित उहाँले एक व्यक्ति, एक पद, दुई पटक मात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता वितरण हुनुपर्ने, सरकार र पार्टी सञ्चालनका लागि ‘थिंक ट्यांक’ स्थापना गर्नुपर्ने बताउनुभयो ।

नेता महरले बीपी विचारको समयसापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता तथा रुपान्तरणका लागि युवा कांग्रेस स्थापना, लोकतन्त्रको संस्थागत विकास एवं असल नेतृत्व, कुशल व्यवस्थापनलगायतका आफ्ना विभिन्न १४ एजेण्डाका बारेमा जानकारी गराउनुभयो । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।