११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकताको घोषणा गर्ने चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न, कथा वाचनको प्रशंसा शिक्षकहरुको आन्दोलन आज पनि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की आईपीएलमा आज बेंगलुरु र राजस्थान खेल्दै, राजस्थानको कप्तानी रियान परागले सम्हाल्ने बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानघाट नहुँदा समस्या



अ+ अ-

बागलुङ । मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ ।

गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झेल्दै आएका छन् । अन्तिम संस्कारका लागि सदरमुकाम बागलुङबजारस्थित कालीगण्डकी नदी किनारमा ल्याउनुपर्ने बाध्यता छ । चिहानघाट बनाउन जग्गा नपाइएको मुस्लिम समुदायका अगुवा रहमद हकिम मियाले बताउनुभयो । “वडा र नगरपालिकामा पटक–पटक माग राख्दा पनि कुनै सुुनवाइ भएको छैन,” उहाँले भन्नुभयो, “हामीलाई साह्रै समस्या छ ।”

उहाँका अनुसार अन्तिम संस्कारका लागि शव कालीगण्डकीमा ल्याउँदा हजारौँ खर्च हुन्छ । शवसहित मलामी पनि गाडीमा आउनुपर्दा बढी खर्चिलो हुने गरेको हो । सडक सुविधा नहुँदा दिनभर लगाएर बोकेर ल्याउनुपर्ने अवस्था थियो । गलकोटदेखि कालीगण्डकी नदी किनार ५० किमिको दूरीमा छ ।
जग्गाको खोजी भए पनि नपाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले सार्वजनिक जग्गाको खोजी भइरहेको छ भन्नुभयो ।

चिहानघाटलाई संवेदनशील मानिने भएकाले स्थानीय समुदायलाई पनि सहमतिमा ल्याउनुपर्ने अवस्था छ । बस्तीदेखि टाढा र स्थानीयवासीले अवरोध नगर्ने ठाउँमा जग्गा व्यवस्थापनको खाँचो देखिएको छ । अन्त्येष्टिको संस्कार भिन्न भएकाले पनि चिहानघाटलाई जग्गा प्राप्त गर्न सजिलो नभएको अन्य समुदायको बुझाइ छ । बागलुङ नगरपालिका–१२ अमलाचौरबाट झण्डै ३५ वर्षअघि व्यापारको सिलसिलामा मुस्लिम परिवार गलकोट पुगेका थिए ।

मुस्लिम समुदायका बालबालिकाले पढ्ने मदरसा पनि समस्यामा छ । जग्गा र भवन नहुँदा छाप्रोमा मदरसा चलाउनुपर्ने बाध्यता छ । नगरपालिकाले वार्षिक रुपमा अनुदान रकम उपलब्ध गराए पनि त्यो पर्याप्त छैन । भौतिक पूर्वाधारसँगै शिक्षक व्यवस्थापनमा समेत सघाउनुपर्ने मुस्लिम समुदायको माग छ ।