३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व एमालेबाट बिजयी कार्यवाहक मेयरको यस्तो चर्तिकला, विकासको बजेट रक्सी-मासुमा



अ+ अ-

धरान । धरान उप-महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्। धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन्। उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ। पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए। तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ। सम्झौता पत्रको प्रमाणित प्रतिलिपी अन्नपूर्णसँग सुरक्षित छ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ। तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासंग सम्झौता गरिएको हो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको स्रोतले बतायो।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा छ लाख भन्दा बढीको मदिरा पाटी गरिएको छ। उक्त पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको थियो। धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ। धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपैयाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ। स्विमिङ पुलमा आयोजना गरिएको पाटीमा वल्र्ड दरबार र मासु भात खुवाइएको थियो।

पर्यटन विकास समितिका सह-संयोजक किशोर थुलुङ र धरान उपमहानगरका तत्कालिन प्रेस संयोजक योगेशबावु काफ्लेले भेडेटारसम्मको पदयात्रा सम्भावना र पहिचानका क्रममा लोकल रक्सी र कुखुराको भाले खाएको ३० हजार छ सय २५ रुपैयाँ उपमहानगरपालिकाले भुक्तानी गरेको छ। पर्यटन विकास उपशाखा प्रमुख भक्तिराज शर्मा जनप्रतिनिधि आएपछि पिण्डेश्वर बाबाधाम, विग इभेन्ट, सुनसरी जिल्ला साईक्लिङ संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सिल्भर इन्टरटेन्मेन्ट र नेपाल खड्गी सेवा समितिसँग मात्र तीन लाख पाँच हजार रुपैयाँको सम्झौता गरेको जानकारी दिए। तर, धरान उपमहानगरपालिकाले धरानका प्रमुख धार्मिक स्थलहरु, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा मन्दिर तथा पर्यटकीय स्थलहरु शिवजट्टा, चिन्डे डाँडा, सूर्य कुण्ड लगायतका स्थानको विकासमा बजेट खर्च नगरी मदिरा र मासुभातमा बजेट सकेको स्थानीको गुनासो छ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले पर्यटन विकासको बजेट दुरुपयोग नगरेको दावी गरेकी छन्। उनले पर्यटनको बजेट कार्यपालिकाको निर्णयबाट पास गरेर खर्च गरिएको बताइ।