१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस, गण्डकी प्रदेश सभापतिमा चारजना आकांक्षी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।

हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ । आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिनुहुन्छ । उहाँ कास्की काँग्रेसमा १७ वर्षसम्म सभापति बनिसक्नु भएको छ ।

२०२६ सालमा काँग्रेस राजनीतिमा प्रवेश गर्नुभएका उहाँ हाल ७५ वर्षको पुग्नुभयो । यसअघि उहाँ रामचन्द्र पौडेल पक्षको रुपमा चिनिनु भएको थियो । यद्यपी उहाँ सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्नुहुन्छ । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएका शर्माले आफूले काँग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताउनु भयो ।

त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गर्नु भएका देवराज चालिसे पनि पौडेल समूहको नै हुनुहुन्छ । उहाँले विद्यार्थी कालदेखि राजनीति शुरु गर्नुभएको थियो भने बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । तर उहाँ सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्नुहुन्छ । उहाँ गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित हुनुभएको थियो । सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा काँग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताउनु भयो ।   

त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गर्नुभएका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुनुहुन्छ । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसक्नु भएको छ । उहाँले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशिर्वाद रहेको बताउनु भयो । नेता पौडेलले काँग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताउनु भयो ।   

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएको छ । उहाँसँग काँग्रेसका केन्द्रिय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ । उहाँले देउवा पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । गण्डकी प्रदेश संगठन बलियो बनाउन, काँग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको उहाँको भनाइ छ ।

काँग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । काँग्रेसका नेताहरुको उम्मेदवार छनोट र  निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो काँग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिनु भएको छ । उहाँले काँग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो ।

काँग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधी गरी करिव २ हजार जनाले मतदान गर्ने छन् ।