• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण

नेपाली काङ्ग्रेसलाई नेविसंघको चेतावनी, उमेर हद लगाएर तदर्थ समिति बनाउ



काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरूले संघको तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद कायम गरी बनाउन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय प्रवेश गर्दै गर्दा विद्यार्थी नेताहरूले ३२ वर्षे उमेर हद कायम गरी तदर्थ समिति बनाउन पार्टी पदाधिकारीसहितका नेतालाई दबाब दिएका हुन् । उनीहरूले विधानमा भएको व्यवस्थालाई टेकेर पार्टीले नेतृत्वबारे निर्णय लिइनुपर्ने भन्दै ३२ वर्षे उमेर हदबन्दीअनुसार तदर्थ समिति बनाउनुपर्ने माग गरेका हुन् ।

कांग्रेसभित्र १२औं महाधिवेशनबाट उमेर हद लगाउने कि तदर्थ समिति बनाउँदै लाने भन्नेमा नेताहरू विभाजित छन् । केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले आफू अनुकूल हुनेगरी नेविसंघबारे धारणा राख्दै आएपछि विद्यार्थी नेताहरूसमेत विभाजित भएका छन् । विद्यार्थी संगठनसहित पार्टीको विधानलाई अन्तिम रूप दिन भन्दै कांग्रेस केन्द्रीय समिति बैठक ९ माघयता दिनहुँजसो बस्दै आएको छ । तर, कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।
पार्टीले नेविसंघको विधानमा ३२ वर्ष कायम गरेको र विधान उल्लंघन हुन सक्ने भन्दै नेताहरू बैठकमा प्रवेश गर्दैगर्दा सचेत गराएको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय कार्यालयको मूल गेटमै बाटो छेकेर नेताहरूलाई विधान नभुल्न भन्दै विधानअनुसार निर्णय गर्न सुझाएको उनले बताए । उनीहरूले नेविसंघमा ३२ वर्षमाथिका उमेर समूहबाट तदर्थ समिति गठन भए समानान्तर कमिटी बनाउने चेतावनीसमेत दिएका छन् ।

विधान उल्लंघन गरिए समानान्तर समितिको चेतावनी

सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत नेतालाई कार्यालयको मूल ढोकामै रोकेर विधानअनुसार तदर्थ समिति गठन गर्न माग गरेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दिए ।
नेताहरूलाई सचेत पार्दै थापासहित संघका निवर्तमान केन्द्रीय सदस्य भट्ट, उमेश थापा मगर, नवराज त्रिपाठी, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटालगायत विद्यार्थी नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।

यसैबीच नेविसंघका पूर्वपदाधिकारीहरूले विद्यार्थीको विश्वास र अभिमतबाट स्थापित शक्तिलाई अवमूल्यन र एकतर्फी निर्णय गरिए सशक्त प्रतिवाद र समानान्तर गतिविधि सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले भने, ‘विद्यार्थीको विश्वास र अभिमतबाट स्थापित शक्तिलाई अवमूल्यन गरेर एकतर्फी निर्णय गरिए सशक्त प्रतिवाद र समानान्तर गतिविधि सञ्चालन हुन सक्छ ।’
उनले गुटगत रूपमा नेविसंघका नेताहरूलाई विभाजित नगर्न समेत पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । एक पक्षीय ढंगले नेतृत्व चयनमा मनोमानी गरिए नेतृत्वले त्यसको क्षति बेहोर्न तयार रहनुपर्ने उनले बताए ।

समयमा महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए । महरको राजीनामापछि नेविसंघको विषयलाई लिएर नेताहरू छलफलमा जुट्दै आएका छन् । तर, उमेर हद लगाएर तदर्थ समिति बनाउने वा नलगाई बनाउने भन्नेमा भने नेताहरू निष्कर्षमा पुगिसकेका छैनन् ।
मंगलबारको कांग्रेस केन्द्रीय समितिले भने नेविसंघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समयावधि समाप्त भइसकेको केन्द्रीय समितिलाई धन्यवाद दिएको छ ।
बैठकले अघिल्लो मितिमा नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरूबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय पनि गरेको छ । राजधानीबाट