२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे १८ करोडको मुद्दामा साढे दुई करोड मात्र धरौटी, छुटे खड्का



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतले मागेको २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कासँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकमका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी मंगलबार नै तारेखमा छुटेका छन् ।

गैरकानुनी रूपमा १८ करोड ५५ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनका श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो । खड्काले अवैध रूपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी अख्तियारको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार खड्कालाई दुई वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिमाना तथा बिगो भराउन अख्तियारले माग गरेको थियो । विवादमा मुछिएपछि सरकारले मन्त्रालयमा तानेर जिम्मेवारीविहीन बनाएको नौ महिनापछि गत जेठमा उनले पदबाट राजीनामा दिएका थिए ।

अख्तियारका अनुसार खड्काले २ चैत २०६९ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार १५५ रुपैयाँ ४७ पैसा आर्जन गरेका थिए । जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, घर भाडाबाट १३ लाख ५६ हजार पाएका उनले ५ करोड ३३ लाख ३६ हजार रुपैयाँ ऋण तथा सापटी पनि लिएका छन् । जागिरबाट अवकाश हुँदा २९ लाख २२ हजार ६९८ रुपैयाँ २८ पैसा आर्थिक सुविधा पाएका उनको पेन्सनबाट १४ लाख ७८ हजार ४८२ रुपैयाँ २४ पैसा आएको छ । गाडी बिक्रीबाट ३५ लाख र विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार ९१३ रुपैयाँ ५४ पैसा उनले पाएका छन् ।
छोरा बुहारीको पारिश्रमिक ११ लाख ४ हजार ३ रुपैयाँसमेत जोड्दा उनको आय ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ ५३ पैसा मात्र देखिएको अख्तियारले जनाएको छ ।

सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म १ करोड २० लाख १३ हजार ४९९ आम्दानी गरेको पनि देखिएको छ । यो सबै जोड्दा उनको आम्दानी ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा हुन्छ । तर, उनले २ चैत २०६९ पछि मात्र पुख्र्यौली घरबाहेक तीनवटा घर निर्माण तथा खरिद गरेका छन् भने दुईवटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइएको छ ।
घरजग्गा खरिदमा मात्र उनले ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ पैसा खर्च गरेका छन् । १ करोड ६ लाख ४ हजारको सेयर किनेका उनले ऋणको सावाँ ब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९ रुपैयाँ ९९ पैसा खर्चिएका छन् । १ करोड २५ लाख ६० हजार सापटी दिएका उनले विभिन्न व्यक्ति तथा संस्थालाई १ करोड १७ लाख ७५ हजार चन्दा दिएका छन् ।
छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६९५ र गाडी खरिदमा १ करोड १७ लाख ४२ हजार खर्चिएका उनले एटीएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ ८२ पैसा खर्चिएका छन् ।
अख्तियारका अनुसार विभिन्न ५५ वटाभन्दा बढी बैंक, वित्तीय संस्था तथा सहकारीमा उनको खाता भेटिएको छ । जसमा अहिले २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ ६४ पैसा नगद मौज्दात छ । यो सबै जोड्दा उनले २५ करोड २८ लाख ५ हजार नौ रुपैयाँ ७६ पैसा लगानी तथा खर्च गरेको भेटिएको थियो ।
सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म गरेको खर्च तथा लगानी २ करोड २ लाख ७० हजार ३७१ रुपैयाँ पनि यसमा जोड्दा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ ७६ पैसा खर्च तथा लगानी भेटिएको अख्तियारको अनुसन्धानमा देखिएको थियो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विशेष अदालतमा ३५२ भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । तीमध्ये ठूलो भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल राष्ट्र बैंकको पोलिमर नोट छपाइसम्बन्धी मुद्दालाई अख्तियारले दुई दशकपछि विशेष अदालतमा दर्ता गर्यो।

नवीन घिमिरेले नेतृत्व सम्हालेपछि अख्तियारले भ्रष्टाचारले ठूलो मुद्दामा हात हालेको छ । गत साउनयता मात्र अख्तियारले २९४ उजुरीमाथि विस्तृत अनुसन्धान गरी ३५२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत ५ पुसमा ९१ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित अख्तिायारले पूर्वगभर्नर तिलक रावललगायतका विरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, संघीय समाजवादी फोरमका ठेकेदार सांसद हरिनारायण रौनियार, ठेकेदार पृष्ठभूमिकै पूर्वमन्त्री विक्रम पाण्डेलगायतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । समाज कल्याण परिषद्को जग्गा भाडा प्रकरणमा २९ करोड हानि पुर्याएको अभियोगमा दुई पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङ पनि भ्रष्टाचार मुद्दा धाइरहेका छन् । राजधानी दैनिकमा खबर छ ।