सन् २००० यता, विपद्का घटनाहरुले १ अर्ब भन्दा बढी बालबालिकाको जीवनमा प्रभाव र ८० हजार भन्दा बढी विद्यालयहरुमा क्षति गरेको देखिन्छ । वर्तमान समयमा विपद्को प्रभाव वर्षेनी बढ्दै गएका छन् । विपद्ले जीवनको क्षति गर्ने, घाईते बनाउने, वा भवन भत्काउने मात्र नभई बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवाबाट बञ्वित गराउनुको साथै खाद्य असुरक्षाको समेत सिर्जना गर्छ । त्यसैले, आज र भोलिका दिनमा बालबालिकाको सुरक्षामा निकै ध्यान पुर्याउनु पर्दछ ।
विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने व्यवस्था गर्नु जरुरी छ । यसका लागि सरकारी तहबाट कामको थालनी हुन र शिक्षकहरुबाटै विपद् जोखिमबारे सिकाउन आवश्यक छ । यही सन्देशलाई प्रस्तुत गर्दै, संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण कार्यालयले अक्टोबर १३ २०२४ का दिन अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाउन आव्हान गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा शिक्षाको भूमिका देखाउन सके र युवाहरुको सशक्तिकरण गर्न सकेमात्र विपद् रहित भविष्य सुनिश्चित हुने र विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई कार्यढाँचाको उद्देश्य समेत पूरा हुने उल्लेख गरेको छ । त्यसैले, यस वर्षको नारा “उत्थानशील भविष्यका लागि भावि पुस्ताको सशक्तिकरण” राखिएको छ ।
भनिन्छ, आजका बालबालिका, भोलिका कर्णधार हुन् । सेन्डाई कार्यढाँचाले समेत बालबालिका तथा युवाहरुलाई परिवर्तनका संवाहकको रुपमा प्रस्तुत गरेको छ । नेपालमा विगतका विपद्का घटनाहरुमा युवा पुस्ता छिटो परिचालित भई अग्रस्थानमा रहेर स्वस्फूर्त रुपमा खोज-उद्धार र राहत वितरण कार्यमा परिचालित भएको हामीले अनुभव गरेकै छौं । युवा र बालबालिकाहरु नयाँ प्रविधि र परिवेशहरुको सम्मुखमा रहने हुँदा उनीहरु नयाँ सोच, उर्जा र उत्साहले भरिपूर्ण हुन्छन् ।
उनीहरु नविनतम प्रयोग गर्न सक्षम छन् । सुदृढ र नविनतम प्रविधिहरुको विकास भईरहेका सन्दर्भमा, उनिहरुलाई विपद् जोखिमबारे ज्ञान दिन सकेमा विपद् जोखिम न्यूनीकरणमा ती प्रविधिहरुको समुचित प्रयोग बढ्ने सम्भावना हुन्छ । प्रविधिहरुमा वातावरणीय ज्ञानलाई एकिकृत गर्दै समुदायमा चेतना फैलाउन, सामाजिक सञ्जालको प्रयोग गरी जोखिम सञ्चारमा भूमिका खेल्न, र नेतृत्व, नवप्रवर्तन, र सहकार्यका माध्यमबाट आफू र आफ्नो समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउन सक्ने परिवर्तनका संवाहकका रुपमा उभिन सक्छन् ।
बालबालिका र युवाहरुलाई परिवर्तनका संवाहकका रुपमा अघि बढाउन शिक्षा र क्षमता विकास, नेतृत्वको अवसर र प्रविधिको प्रयोग आवश्यक छ । उनिहरुको अधिकतम सक्रिय समय विद्यालयमा बित्ने गर्छ भने शिक्षक-शिक्षिका प्रेरणाका स्रोत र साथीहरु आधारस्तम्भ हुने गर्दछन् । तसर्थ, बालबालिका र युवाहरु विद्यालयमा हुने गरेका, शिक्षक-शिक्षिकाहरुबाट सिकाईने र साथीहरुसँग मिलेर गरेका क्रियाकलापहरुसँग बढी अभ्यस्त हुने र तिनै अनुसार व्यक्तिगत, व्यवहारिक र व्यवसायिक आचरणको विकास हुने गर्दछ । त्यस्तै, प्रविधिका मार्फत् हुने ज्ञान र शैक्षिक क्रियाकलापहरुले उनीहरुको आचरणलाई निर्देश गरिरहेको हुन्छ ।
त्यसैले, बालबालिका र युवाहरुको व्यक्तिगत, व्यवहारिक र व्यवसायिक आचरणमै विपद् जोखिमबारे ज्ञान एकिकृत गर्न सकेमा विपद् रहित भविष्यको परिकल्पना गर्न सकिन्छ । त्यसका लागि, विभिन्न उपायहरु मध्ये, विद्यालय एक सहज माध्यम हुन सक्छ । विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यवहारिक पाठ्यक्रम निर्माण गरी पठनपाठन र अभ्यास गराउन सके बालबालिकामा जोखिमबारेको बुझाई सुदृढ हुन सक्छ ।
समय-समयमा समुदायस्तरमा रहेका बाल क्लब, युवा क्लब, वा युवा सञ्जाल मार्फत् विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका क्रियाकलापहरुलाई निरन्तरता दिन सकेमा अझ बढी जोखिम-सूचित युवा पुस्ताको निर्माण हुनेछ र सामुदायिक उत्थानशीलतामा समेत टेवा पुग्नेछ ।
युवाहरुको समूहलाई थप सक्रिय बनाउन र सहकार्यको वातावरण मिलाउन, विभिन्न सरोकारवालाहरुसँगको संयुक्त सञ्जाल निर्माण गर्न र प्रविधिक तथा वित्तीय सहयोगका अवसर प्रदान गर्न सकिएमा, युवा र बालबालिकाहरु अझ प्रभावकारी रूपमा परिवर्तनका संवाहक बन्न सक्ने देखिन्छन् । नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्दै, भावी नेतृत्वका लागि प्रोत्साहन गर्न सकिन्छ । जोखिम-सूचित युवाहरुको नेतृत्वमा हुने विकासका क्रियाकलापहरु प्रकोप उत्थानशील पक्कै हुनेछन् ।
लेखक सुमन चापागाई विगत ९ वर्ष भन्दा बढी समय देखि विपद्को अध्ययन अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।