३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’
अ+ अ-

गलेश्वर, (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ ।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्नुहुन्छ । सदरमुकामसँगै जोडिएकाले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ ।

उहाँ विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उहाँकै छ । म्याग्दीका ६ वटै स्थानीय तहका प्राय: सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ । सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ ।

यसरी परम्परागत प्रथा जोगाउन महत्वपूर्ण भूमिका खेले पनि उहाँहरूको पारिश्रमिक भने न्यून छ । बगरफाँटमा एक सय ९७ घरधुरी छन् । तीमध्ये बसाइँसराइका कारण कैयौँ घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन् । बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गर्नुभएको छ । यसले जीविका धान्न मुस्किल भइरहेको उहाँको गुनासो छ । “बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन । यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो । गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन”, विकले भन्नुभयो ।

कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ । विगत २० वर्षदेखि कटुवालको काम गर्दै आउनुभएका उहाँले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरीथरीका सूचना सुनाउनुहुन्छ । दसैँको बेला त झन् व्यस्तता बढ्छ । दसैँमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पुर्‍याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ ।

“सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् ।

कसैले रक्सी नखानूहोला, नबेच्नूहोला, रक्सी खाएर होहल्ला नगर्नूहोला ।”

एकाबिहानै यस्तायस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उहाँको काम हो । सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दु:खका कुरा घरघरमा पुर्‍याउन थालेको पनि उहाँलाई दुई दशक बितिसकेको छ । उहाँले ज्यालामजदुरीसँगै कटुवाल पेसालाई निरन्तरता दिँदै आएको बताउनुभयो । “सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु” दिलबहादुरले भन्नुभयो,“केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु ।”

आफ्नो पीडा कसलाई सुनाउनु ?

गाउँलेलाई सूचना र खबर सुनाउने दमार्इंले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताउनुभयो । “पीडाको पहाडले मलाई थिचेको छ । एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपाङ्गता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ । छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन । कहिलेकाहीँ त पेटभरी खाने अन्न पनि हुँदैन”, दिलबहादुरले दु:खेसो पोख्नुभयो,“एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन । कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु ।”

उहाँले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाउनुभयो । “एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मिठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन”, दिलबहादुरले भन्नुभयो । कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उहाँको भनाइ छ ।

उहाँलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ । आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउनुहुन्छ ।

बेनी नगरपालिका—९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमान्दारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्नुहुन्छ । “उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौँ । वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गछौँ”,  वडाध्यक्ष केसीले भन्नुभयो ।

कटुवालको सहजताका लागि हाते—माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ । “बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ । त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ”, कटुवाल विकले भन्नुभयो । रासस