१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएकै छैन- इश्वर पोखरेल



अ+ अ-


काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै पनि सहमति नभएको खुलासा गरेका छन् । उनले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्ने विषयमा कुरा बाहिर आएको तर पनि त्यस्तै कुनै पनि प्रकारको सहमति नेकपामा नभएको दोहोर्‍याएका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने सहमति पहिले नै भएको तर पनि अर्का अध्यक्ष प्रचण्डबारे आफूले कहिँ कतै सहमति भएको थाहा नपाएको बताए । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरे ।

उनले सो अन्तरवार्तामा भनेका छन, ‘मैले दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको छु । तर, दुबैले यो विषय केही होइन भन्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘ओलीज्यूलाई किन हटाउने ? केका लागि हटाउने ? उहाँले नै पाँच वर्ष चलाउनु हुन्छ ।’

पोखरेल यतिखेर पूर्व माओवादीहरु र विशेषगरी प्रचण्डप्रति निकै आलोचक भएका छन् । प्रचण्डले यदि पूर्व माओवादीहरुलाई दबाउन खोजियो भने अर्काे माओवादी जन्मिन सक्छ भनी हालै दिएको अभिव्यक्तिको पनि कडा शब्दमा प्रतिकार गरेका थिए । त्यस्तै पोखरेल पार्टी कार्यालयमा आयोजना गरिएको गत बुधबारको जनयुक्त दिवस मनाउने कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।