२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको प्लटिङ सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध



अ+ अ-

काठमाडौं। नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ ।

सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ ।

त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३।५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् । तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ ।

जीवन्तनगर टोल सुधार समितिका अध्यक्ष पुष्कर पौडेलले सेनाकै कारण सय घरको ढल जडान रोकिएको बताए । ‘जीवन्तनगरमा अहिले ७० भन्दा धेरै घर छन् । ३० वटा बन्दै छन् । त्यसभन्दा माथि पाँगा छ । यी ठाउँको ढल सेनाले गरेको प्लटिङको बाटोबाहेक अन्तबाट निकास हुने सम्भावना छैन । किनभने सेनाको प्लटिङ पाँगा र जीवन्तनगरभन्दा तल छ,’ उनले भने, ‘तर, सेनाले कुनै हालतमा प्लटिङबाट ढल निकास गर्न नदिने भनेको छ । यसले जीवन्तनगर मात्र होइन, पाँगाको ढल निर्माण कार्य पनि प्रभावित बन्यो ।’

प्लटिङबाट निस्किने ढल सेनाले चोभारस्थित राजकुलोमा बनेको ढलमा निकास गरेको छ । समितिका अध्यक्ष पौडेल भन्छन्, ‘सेनाको घडेरीबाट निस्केको ढल राजकुलोमा मिसाउन हुने, अनि हाम्रो चाहिँ रोक्ने रु सेनाले आफ्नो ढल प्लटिङभित्रै व्यवस्थापन गर्न सक्छ भने हाम्रो भन्नु केही छैन । नत्र हामीले पनि ढल लैजान पाउनुपर्छ ।’

टोलका स्थानीय तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। महेश आचार्यका अनुसार सेनाले जीवन्तनगर जोड्ने बाटोसमेत थुनेको छ । ‘हाम्रो नक्सामा सेनाले बनाएको प्लटिङस्थित सडकसम्म पुग्ने बाटो छ । तर, सेनाले त्यो बाटो पनि थुनेको छ,’ उनले भने, ‘हामी त्यही बाटो हुँदै ढल लैजान चाहन्थ्यौँ । बाटो नै थुनिएपछि ढल जोड्न सकिएन ।’

वडाको पत्रलाई सेनाले टेरेन

ढल निर्माण रोकिएपछि टोलवासी कीर्तिपुर–५ को वडा कार्यालय गुहार्न पुगे । मागपत्र बुझाए । त्यसैको आधारमा वडा कार्यालयका कार्यवाहक अध्यक्ष विक्रम महर्जनले असोज ७ मा भद्रकालीस्थित सेनाको कल्याणकारी निर्देशनालयलाई पत्र लेख्यो । तर, सेनाले त्यसलाई वास्ता गरेन । असोज ९ गते टोलवासी निर्देशनालय नै पुगे र मागपत्र दिए । त्यसपछि भने सेनाले केही दबाब महसुस ग(यो ।

केही दिनपछि निर्देशनालयले अध्ययनका लागि भन्दै सेनाका एक उच्च अधिकारी सुरेश सुब्बा र प्राविधिक निश्चल रायमाझीलाई प्लटिङस्थल पठायो । स्थानीयसँग उनीहरूले वार्ता गरे । प्लटिङको अध्ययन पनि गरे । तर, ढल निकासका लागि बाटो दिन सेना तयार भएन ।

टोल सुधार समितिका अध्यक्ष पौडेल भन्छन्, ‘हामीले ढल निकासका लागि सेनासँग धेरै अनौपचारिक पहल गर्यौ । काम भएन । त्यसपछि औपचारिक प्रयास पनि गर्यौ। वार्ता भयो, तर ढल निकासको अनुमति पाइएन ।’

ढल जोड्न नदिए प्लटिङमा लगेर छाडिने

ढल निकासको अनुमति नदिए पाँगा र जीवन्तनगरको ढल सेनाको प्लटिङमा लगेर छाडिदिने चेतावनी टोल सुधार समितिका अध्यक्ष पौडेलले दिए । ‘सहर हाइटमा छ । प्लटिङ ओरालोमा छ । पानी त ओरालोमा नै जाने हो,’ उनले भने, ‘सेनाले ढल निकास दिएन भने हामी आफ्नै लगानीमा ढल बनाउँछौँ र लगेर सेनाको प्लटिङमा छाडिदिन्छौँ । हामीसँग अर्को विकल्प छैन ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।