२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

साँचो माया जाँच्ने ढुङ्गा ‘स्टोन फरेस्ट’ अर्थात् ढुङ्गाको जङ्गल -फोटो फिचर

युनेस्कोले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरेको  यो स्थानमा रहेका  संरचनाहरू २७ करोड वर्षभन्दा पुरानो मानिन्छ

साँचो माया जाँच्ने ढुङ्गा ‘स्टोन फरेस्ट’ अर्थात् ढुङ्गाको जङ्गल -फोटो फिचर
अ अ+ अ-

चीन (युनान) ।  जङ्गल भन्ने बित्तिकै हामीलाई रुखहरुको याद आउँछ तर चीनको  युनान प्रान्तको कुनमिङ कुजिङबाट १२६ किलोमिटर दक्षिणपूर्वमा पर्ने लुनान यू स्वायत्त काउन्टीमा स्टोन फरेस्ट अर्थात् ‘ढुङ्गाको जङ्गल’  रहेको छ । 

युनेस्कोले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरेको  यो स्थानमा रहेका  संरचनाहरू २७ करोड वर्षभन्दा पुरानो मानिन्छ ।

आन्तरिक  तथा बाह्य पर्यटकहरूका लागि अत्यन्त आकर्षक र मनमोहक गन्तव्य ढुङ्गाको जङ्गललाई “विश्वको पहिलो आश्चर्य” को रूपमा समेत लिने गरिन्छ । हजारौं वर्षको मौसमी परिवर्तनका कारणले चुनढुङ्गामा हुने परिवर्तनका कारण यी संरचनाहरू बनेको अनुमान गरिएको छ । 

आजभन्दा २७ करोड वर्ष पहिले समुद्रबाट यसको उत्पत्ति भएको वैज्ञानिकहरुले पुष्टि गरेका छन्। लगभग बीस लाख वर्ष अगाडि समुद्रको पानी सुक्दै गयो र चुनढुङ्गाहरु पग्लदै गएर अहिलेको आकृतिमा रहेको वैज्ञानिकको प्रयोगशालाबाट प्रमाणित भएको सो क्षेत्रको सूचनापाटीमा उल्लेख छ।

समुद्र सतहबाट १,६२५ देखि १९०० मिटरसम्म उचाईमा अवस्थित यो रमणीय स्थान कुनमिङसँग राजमार्ग र रेलवे दुवैबाट जोडिएकाले सजिलै पुग्न सकिन्छ ।  यहाँ ढुङ्गाहरू अद्‌भूत किसिमका रहेका छन् । ५ देखि ३० मिटरसम्मका अग्ला होचा ढुङ्गाहरूको यो जङ्गल २६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । 

यो क्षेत्रलाई चीन सरकारले अत्यन्त महत्त्वका साथ संरक्षण गरेको देखिन्छ । यहाँ स्टलाग्माइट, स्ट्यालेक्टाइट, ढुङ्गाका स्तम्भहरू र करिडोरहरू, पाँच भूमिगत नदीहरू, तालहरू, पोखरीहरू र झरनाहरूले भरिएका असंख्य गुफाहरू छन् । यसका साथै धेरै जलासय एवम् पोखरीहरू समेत रहेका छन् । यस क्षेत्रलाई ग्रेटर स्टोन फरेस्ट, लेसर स्टोन फरेस्ट, ओटर स्टोन फरेस्ट, भूमिगत स्टोन फरेस्ट, स्टोन फरेस्ट लेकजस्ता नामहरूसहित विभाजन गरिएको छ ।

ठूला र साना ढुङ्गाको वन, नाइगु स्टोन वन, ठूला र साना झियुन गुफाहरू, क्विङफेङ गुफा, लङ लेक, मुन लेक, फेयरी लेक र फेइलोङ फल्स जस्ता क्षेत्र यहाँका सबैभन्दा आकर्षक, रमणीय र अचम्मका स्थलहरू हुन् ।

स्टोन फरेस्टमा ढुङ्गाको जंगलमा काठमाडौंको धरहराजत्रै अग्ला सीधा उभिएका असंख्य चट्टानहरू र राजसी चुचुराहरू छन् । यी ढुङ्गाहरूमा जनावर, बोटबिरुवा र मानव आकृतिहरू पनि पाउन सकिन्छ। चट्टानहरूमा दस हजार वर्षको च्याउ (१० मिटर अग्लो), आमा र छोरा, हात्तीमा सवार ऊँट, अवलोकितेश्वर चट्टान, बुद्ध ढुङ्गा, चन्द्रमा हेरेको गैँडा र पानीबाट आरोहण गर्ने सुन्दर युवती जस्ता अविस्मरणीय नामहरू छन् ।

स्थानीय बासिन्दाहरू परम्परागत पोशाकका सजिएर मौलिक वाद्यवादनमा रमाइरहेका देख्न सकिन्छ भने यस क्षेत्र भित्र स्थानीय बासिन्दाले मात्र व्यापार व्यवसाय  गर्न पाउँछन् ।  विशेष नृत्यसहितको बाँसुरी तथा अन्य सङ्गीतका साधनहरूको मिठो धुनले त्यस क्षेत्रको बाताबरण निकै रोमाञ्चक हुन्छ ।

यसको उत्पत्तिका बारेमा स्थानीय चिनियाँहरु भने वैज्ञानिक मान्यताको साटो हजारौँ वर्ष अगाडिको आशिमा र अहेइ नामका युवायुवतीको प्रेम वियोगान्तको कथामाथि बढी विश्वास गर्छन्। यो क्षेत्र युनान प्रान्तको यी जातीय स्वायत्त काउन्टीमा पर्ने भएकाले यस क्षेत्रमा यी जातिका मानिसहरु धेरै छन्।

अहिले पनि चिनियाँ युवायुवतीका जोडीहरु स्टोन फरेस्टभित्र जाने र आशिमाको प्रतीकका रुपमा रहेको ढुङ्गा अगाडि बसेर केटाले ‘आशिमा’ र केटीले ‘अहेइ’ भन्दै आवाज निकालेर कराउने प्रचलन छ। युवायुवतीले आशिमा र अहेइलाई आफ्नो सपनाको जोडीका रुपमा लिने गर्छन्। त्यहाँ गएर आफ्ना जोडीको नाम लियो भने प्रेम अमर रहन्छ भन्ने विश्वास पनि छ। यही ऐतिहासिक तथा पौराणिक कथामा आधारित ‘आशिमा’ नाममा चीनमा थुप्रै गीति नाटक, उपन्यास, चलचित्र र पुस्तकहरु सिर्जना भएका छन्। ती सिर्जना थुप्रै विदेशी भाषामा अनुदित पनि भएका छन्।

ढुङ्गाको जङ्गल घुमाउने पर्यटक पथ प्रदर्शक, दोभाषे र पार्कभित्र साना विद्युत्तीय कार चलाउने काम स्थानीय व्यक्तिहरुले मात्र गर्न पाउँछन्। सिलिन यी स्वायत्त काउन्टीभित्रका  व्यक्तिलाई सरकारले अंग्रेजी भाषाको राम्रो प्रशिक्षण दिएको छ र उनीहरु आफ्ना परम्परागत पोशाकमा सजिएर पर्यकटलाई ढुङ्गाको जङ्गल घुमाउँदै आशिमा र अहेइको कथा सुनाइरहेका हुन्छन्। पर्यटकले प्रवेश टिकटमै पथप्रदर्शक र दोभाषेको पनि शुल्क तिरेकाले भ्रमण र अवलोकनमा न त पर्यटकलाई कुनै झन्झट हुन्छ न त पथप्रदर्शकलाई नै। जसरी चीन सरकारले ढुङ्गाको जङ्गल अर्थात् स्टोन फरेस्टको संरक्षण गरेको छ उसैगरी अल्पसंख्यक जातिलाई विभिन्न अधिकार र स्तरवृद्धि गरी सशक्त बनाएको छ।

यस क्षेत्रलाई चीन सरकारले सन् १९५० को दशकमा पर्यटकका लागि खुलाएको थियो ।   यस क्षेत्रको प्राकृतिक बनोट र सौन्दर्यले जति लोभ्याउँछ त्यो भन्दा बढी त्यहाँको सरसफाइ र संरक्षणले उत्तिकै मोहक बनाउँछ।यो विश्वकै सबैभन्दा अग्लो भूभागमा रहेको पर्यावरणीय पार्क पनि हो। यहाँ वार्षिक सरदर ३० लाख पर्यटकले अवलोकन भ्रमण गर्छन्।