२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ विज्ञ टोली नेपाल आउँदै



अ+ अ-

काठमाडौं । नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।  नेपालबाट गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चाईना जिओलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउन सम्झौता गरेको हो ।

सम्झौता अनुसार अबको एक महिनाभित्र चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्नेछ । पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ ।

चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख, सुर्खेत पुगेर त्यहाँ रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र डि्रलिङको काम गरी ईन्धन भण्डार पत्ता लगाउनेछ ।

‘अन्वेषण गरी इन्धनको प्रकृति अनुसार कति क्षमताका खानी छन् ? व्यवसायिक उत्खनन् सम्भव छ/छैन लगायतका तथ्य बाहिर आउँछ’, उनले भने । यसका लागि गत २९ पुसको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिइसकेको छ ।

यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो । तीन दशकअघि नै पेट्रोलियम खानीको अन्वेषण थालेको भएपनि त्यसले ठोसरुप पाउन सकेको छैन ।

प्रचुर सम्भावनाका बावजुद विज्ञता, प्राविधिक र दक्ष जनशक्ति अभावमा यसबारे विस्तृत अनुसन्धान हुन सकेको छैन । सरकारले नै यस विषयमा गम्भीर चासो देखाएको पाइँदैन ।

संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि मात्रै तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्र्याउन पहल गरेको थियो ।

सोही पहलको परिणाम थियो, चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुनु । त्यसैमा टेकेर चिनियाँ टोलीले वैशाख ०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो ।

त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषण हुन सकेको थिएन । अबको अन्वेषणले कम लागतमा पेट्रोलियम उत्खनन् गर्न सकिने क्षेत्र पहिल्याउने छ ।

विभागका उपमहानिर्देशक घिमिरेका अनुसार पेट्रोलियम खानी अन्वेषणका लागि एक करोड बजेट विनियोजन भएको छ । खानी अन्वेषणका लागि नेपालले झण्डै ४ अर्ब लागत लाग्ने प्रस्ताव पठाएकोमा चीन सरकारले अनुदान वापत २ अर्ब २० करोड छुट्याएको घिमिरेले जानकारी दिए ।

यस्तो छ प्रारम्भिक रिपोर्ट

नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृंखलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन् ।

पाकिस्तानले चुरे पर्वत शृंखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृंखलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम निकालिरहेको छ ।

अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । काठमाडौंलगायत धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यास निस्किरहेको छ ।

यी उदाहरणले नेपालको पेट्रोलियम सम्भावनालाई औंल्याएका छन् । दैलेखकै श्रीस्थानमा जमिनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ ।

र, त्यो करिब तीन सय वर्षदेखि बलिरहेको छ । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ ।

स्थानीयवासीले पनि त्यस क्षेत्रमा उत्खनन् गर्न सरकारलाई आग्रह गर्दै आएका छन् । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे यसबारे चासो देखाउँदै चिनियाँ टोलीसहित सम्भाव्य क्षेत्रमा पुगेका थिए ।

चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भइसकेको छ ।
श्रीस्थानलगायत क्षेत्रमा पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना रहेको चिनियाँ सहयोगमै गरिएको सरकारी अध्ययनले पनि देखाएको छ ।

०७३ वैशाखमा आएको चिनियाँ टोलीमा वैज्ञानिक र प्राविधिकहरु सम्मिलित थिए । सोही टोलीको रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास नभएको पुष्टी भएको छ । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य रहेको रिपोर्ट आएको छ ।

त्यसबेलासम्म एलपी ग्यासको सम्भावनाबारे औपचारिक अध्ययन हुन सकेको थिएन ।  चिनियाँ वैज्ञानिकहरुको टोली गत मंसिरमा पनि नेपाल आएको थियो, जसले विभिन्न क्षेत्रका चट्टानहरु नमूनाका रुपमा लिएर गएको थियो ।

दैलेखमा पेट्रोलियम ग्यास रहेको पुष्टि भएको विभागका अधिकारी बताउँछन् । कति परिमाणमा ग्यास छ भन्ने पत्ता लागेको छैन, चिनियाँ टोलीले सम्भाव्यता अध्ययन मात्र गरेको हो ।  र, उत्खननको चरणसम्म पुग्न थप अध्ययन आवश्यक रहेको विभागका उच्च अधिकारी बताउँछन् । (अनलाइनखबरबाट साभार)




भर्खरै