२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले विकास निर्माणका काम प्रभावित



अ+ अ-

ठिनी । हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।

यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताउनुभयो । दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ ।

तयारी अवस्थामा रहेको चार मोटरेवल पुलको ढलान गर्ने काम हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । आयोजनाको काम एक महीनापछि धकेलिएको उहाँको भनाइ छ । जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदुर फर्किएको बताउनुभयो ।

विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । मुस्ताङका पाँच स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् ।