काठमाडौँ । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।
शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले वाटफोर्डलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक गोल गरे । यता, वाटफोर्डका जिरार्ड डिउलोफिउले गोल गरेका थिए ।
पहिलो हाफसम्म दुवैै टिमले गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा सिटीका रहिम चम्किँदा वाटफोर्ड पराजित भएको हो । रहिमले खेलको ४६औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उनले ५०औं र ५९औं मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता सिटीलाई दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा डिउलोफिउले गोल गर्दै वाटफोर्डलाई ३–१ गोलको अवस्थामा ल्याए ।
बाँकी समयमा कुनै गोल हुन नसकेपछि सिटीले वाटफोर्डलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
जितसँगै सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ७० अंक छ ।