काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । रियलेको जितमा करिम बेन्जेमाले दुई गोल गरे । त्यस्तै राफेल भराने र लुका मोड्रिचले समान एक एक गोल गरे । भालाडोलिडका लागि अनुअरले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता घरेलु टोली भालाडोलिडले लिएको थियो । २९औं मिनेटमा अनुअरले गोल गर्दै भालाडोलिडको अग्रता दिलाए । त्यसअघि रुबेन अल्काराजले पेनाल्टीमा गोल गर्न नसक्दा भालाडोलिड केही निरास बन्यो ।
३४औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । भारानेले नाचोको पासमा बराबरीमा गोल फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा रियलले तीन गोल थप्यो । ५१औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गरे । ५९औं मिनेटमा बेन्जेमाले टोनी क्रुसको पासमा हेड गोल गरेका थिए । ८०औं मिनेटमा क्यासेमिरो दोहोरो पहेँलो (रातो) कार्ड खाँदै बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
लुका मोड्रिचले रियलका लागि ८५औं मिनेटमा अर्को गोल थपे । उनले बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
जितसँगै तेस्रो स्थानमा रहेको रियलले २७ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ अंक छ । २६ अंक बनाएको भालाडोलिड १६औं स्थानमा छ ।
शनिबार रातिनै भएको अन्य खेलमा सेभिल्लाले रियल सोसाइडाडलाई ५–२, भ्यालेन्सियाले गिरोनालाई ३–२, भिल्लारियलले लिभान्तेलाई २–० र रियल बेटेसिले सेल्टा भिगोलाई १–० गोलले हराएको छ ।