१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न निगमलाई निर्देशन



अ+ अ-

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै १० फागुनमा बसेको समिति बैठकले वाईडबडी ए-३३०, न्यारोबडी ए-३२० जहाज मर्मतको ठेक्का प्रक्रिया रोक्न लगाएको थियो ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरेर रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरीत हुने निष्कर्ष निकाले हो ।

समितिका अनुसार अब निगमलाई पुरानै ठेक्का प्रक्रिया अघि बढाउन पर्ने भएको छ । मूल्यका हिसाबले समेत पुरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले त्यसैअनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिको यसअघि बसेको बैठकले त्यो टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाडामा लिनेसम्बन्धी ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । सस्तोमा टेण्डर गरेको लुप्थान्सालाई समेत त्यो ठेक्का प्रक्रियामा सहभागी गराउन पनि निगमलाई समितिले निर्देश गरेको छ ।

तर, छानविनका क्रममा उक्त कम्पनीको प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेकोले ठेक्का प्रक्रियाबाट नहटाउन निर्देशन दिइएको समिति सचिव पाण्डेले बताए ।

साथै समितिले यस विषयमा थप छानविन गर्न सरोकारवालाको समेत ध्यानाकर्षण गराएको छ ।