१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सभामुखको रुलिङ, मान्लान त ओली ?



अ+ अ-

काठमाडौँ । टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई सभामुख कृष्णबहादुर महराले रुलिङ गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए गरेपछि महराले रुलिङ गरेका हुन् ।

बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

राजपाको अवरुद्धपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा सभामुख महराले सरकारलाई यथासिघ्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

२०७२ साल भदौमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो ।

आयोगले २०७४ माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि सरकारले आयोगको प्रतिवेदन अझैसम्म पनि सार्वजनिक गरेको छैन ।
राजकिसोर यादवले गिरिशचन्द्र लालको नेतृत्वमा २०७३ असोज २ गते गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सरकारले अध्ययन गरिरहेको र आवश्यक परे सार्वजनिक गर्ने जवाफ दिएका थिए ।

यादवले सरकारले आवश्यक परे सार्वजनिक गर्नेजस्तो स्वेच्छाचारी जवाफ देखिएको भन्दै विरोध जनाए ।

उनले उक्त प्रतिवेदन सावर्जनिक नभएसम्म प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिए । सभामुखको रुलिङसँगै राजपाले गरेको संसद अवरोध हटेको छ ।