काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्याटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब शाल्केलाई ७–० को फराकिलो गोलअन्तरले जित हात पार्दै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । सिटीले शाल्केमाथि समग्रमा १०–२ गोलअन्तरको जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा सिटीले ३–२ गोलको जित दर्ता गरेको थियो ।
सिटीको जितमा सर्जियो अग्युरोले दुई, लेरोय साने, रहिम स्टर्लिङ, बेर्नाल्डो सिल्भा फिल फोडेन र ग्याब्रियल जिससले समान १–१ गोल गरे । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।
अग्युरोले ३५औं र ३८औं मिनेटमा गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाएका थिए । त्यस्तै सानेले ४२औं मिनेटमा गोल गर्दै सिटीलाई पहिलो हाफसम्म ३–० गोलको अग्रता दिलाए ।
त्यस्तै, रहिमले ५६ औैं मिनेटमा, ७१ औ मिनेटमा सिल्भा, ७८औं मिनेटमा फोडेन र ८४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई जित दिलाए ।