१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिममा सम्हालिन नसक्दा मनाङसँग बराबरीमा रोकियो संकटा



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक/एक गोल गरे भने मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक/एक गोल गरे ।

खेलको ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । लक्ष्मण रुचालको फ्रिकिक पासमा निरजले हेडरमार्फत गोल गरेका हुन् ।  

खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । दयानन्दले हेडरमार्फत गोल गरे ।

खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा सुवास गुरुङको स्थानमा मैदान प्रवेश गरेका उत्तमले उत्कृष्ट गोल गरे ।

खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई हारबाट जोगाए । बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिए भने संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए । आज नै दोस्रो खेल अन्तर्गत ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।