काठमाडौँ । प्रदेश २ को बारा र पर्सामा आइतबार साझ आएको भीषण हावाहुरीको क्षतिको बारेमा निरीक्षण गर्न प्रधानमन्त्री केपि शर्मा ओली सहित चार मन्त्री जाने भएका छन् ।
प्रधानमन्त्री ओलीलाई लिन सुरक्षा निकायका प्रमुखहरु सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’,स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ काठमाडौँबाट झापा हुँदै बारा जान लागेका हुन् ।
झापाबाट प्रधानमन्त्रीसँगको टोली बाराको हावाहुरी पीडित क्षेत्रको निरीक्षणमा जानेछ ।
प्रधानमन्त्री ओली आइतबार मात्रै गृहनगर दमकको दुई दिने भ्रमणमा निस्केका थिए । गृहनगरको दुई दिने बसाईमा प्रधानमन्त्री ओली उद्घाटन कार्यक्रममै व्यस्त रहने क्रार्यक्रम थियो ।
तर आइतबार साँझ हावाहुरीका कारण बारा र पर्सामा ३२ जनाको मृत्यु भएपछि ओलीले सम्पूर्ण क्रर्यक्रम रद्द गरेका हुन् ।ओलीले मंगलबारेमा रहेको मदनभण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती शुभारम्भको उद्घाटन गर्ने भएका थिए ।
त्यस्तै, उर्लाबारीको कार्यक्रममा सहभागी भएपछि दमक नगरपालिकाको प्रशासनिक भवनको अपरान्ह ३ बजे समुद्घाटन गर्ने कार्यतालिका रहेको थियो ।
त्यस्तै प्रधानमन्त्री ओलीले सोमबार पशुपंक्षी हाट बजारको उद्घाटन गर्ने बताइएको थियो ।