काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।
पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता हस्ताक्षर गर्नुभएको छ ।
उक्त साझेदारी मार्फत गाउँपालिहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम(तालिम लिएर उद्य गर्न चाहने उद्यमीहरुलाई गाउँपािलकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम(तालिमहरुका वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उदेश्य रहेको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताका सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले प्रकाश पार्नुभएको थियो ।
अन्तरक्रियाको दौरान स्थानीय किसान युवा तथा महिला उद्यमिहरुले उठाउनुभएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो । कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा सुरु गरेको छ ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यावसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरि नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।